टीकापुर, २६ असोज/जिल्ला प्रहरी कार्यालय कैलालीले टीकापुर वार्ड नम्बर ४ इन्द्रयाका दुई युवालाई पक्राउ गरी थुनामा राखेको छ । असोज १४ गते टीकापुर स्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरी धनगढी स्थित जिल्ला प्रहरी कार्यालयमा नरबहादुर साउँद र निजका सहोदर दाजु नेत्रबहादुर साउँदलाई थुनामा राखेको हो ।
प्रहरी सहायक निरीक्षक लोकेन्द्र बहादुर चन्दको प्रतिबेदन जाहेरिमा सार्बजनिक हित समेत विरुद्धको कसुरको सिलसिलामा प्रहरी हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने भनी प्रहरी हिरासतमा राख्ने आदेश दिइएको छ । प्रहरीले साउँदका तीन भाईलाई पक्राउ गर्न आदेश जारी गरेपनि बिर्ख साउँदलाई भने पक्राउ गर्न सकेको छैन ।
पक्राउ गरेको ११ दिनपछि टीकापुर दैनिकले कारण सोधेपछि जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी देबेन्द्र पालले आफुलाई जानकारी नभएको भन्दै फोन काट्नुभयो ।
नागरिकलाई थुनामा राखेर अनाहकमा दुःख दिएको बिषयमा प्रश्न गर्दा एसपीको व्यबहारले प्रहरीको नियत प्रष्ट हुन्छ । प्राप्त जानकारी अनुसार नरबहादुर साउँद र निजका सहोदर दाजु नेत्रबहादुर साउँद की सौतेनी आमासंघ अंश सम्बन्धि मुद्दा जिल्ला अदालत कैलालीमा चलिरहेको छ । मुद्धा चलिरहेकै अवस्थामा कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले साउँद दाजू भाईलाई सौतेनी आमाको छोरालाई अंश दिन दवाब दिएपछि साउँद दाजु भाइले प्रमुख जिल्ला अधिकारी का बिरुद्ध मुद्दा दर्ता गराएका छन् । यसरी प्रमुख जिल्ला अधिकारीका बिरुद्ध मुद्धा दर्ता गरेपछि प्रहरीले प्रतिसोध साधेको परिवारजनको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको मिलोमतो मा साउँद दाजू भाईलाई पक्राउ गरी दुःख दिएको बताइन्छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी भरत बोहराले आफुले पनि यो मुद्दाको बारेमा सुनेको तर थप जानकारीको लागि प्रहरी जिल्ला प्रमुख पालसंग बुझ्नुपर्ने बताउनुभयो । जिल्ला प्रहरी प्रमुख पालले बिहिवार पत्रकारसंग कुरा गर्ने क्रममा केही नबोलेपनि केही दिन अघि पत्रकार गणेश क्षेत्रीसंग पालले प्रहरीको काममा बाधा अड्चन गरेकोले हिरासतमा लिएको बताउनुभएको थियो ।
मुद्दा अदालतमा बिचाराधिन छ अदालतले पक्राउ पुर्जी पनि दिएको छैन भने अदालतको आदेशले होकि सिडिओको आदेशले पक्राउ गरिएको हो भन्ने पत्रकार क्षेत्रीको प्रश्नमा पालले प्रक्रियामा गएर पक्राउ गरेको बताउनु भएको थियो । ‘‘ थप केही नभन्ने र जे हुन्छ प्रक्रिया अनुसार नै हुन्छ , घरायसी कुरा मिल्नुपर्दैन रु नमिले पछि यस्तै दुःख पाइन्छ ।’’ पालले क्षेत्रीसंग सम्बादमा भन्नुभएको थियो ।
ईलाका प्रहरी कार्यालय टीकापुरको प्रहरी बरिष्ठ नायब निरीक्षक निरक रावलले जिल्ला प्रहरी कार्यालय धनगढीबाट हाजिर गराउनु भन्ने आदेस आएपछि आफुहरुले पक्राउ गरेर धनगढी पठाएको बताउनुभयो । थप अनुसन्धानको लागि भनेर पुनः थप ७ दिनको लागि भनेर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।