जेन–जी र सरकार

विशेष सम्पादकीय

केही वर्षयता आम नागरिकमा निरासा र आक्रोस मात्र थियो । नागरिकमा आक्रोश भए पनि दलका नेताहरुलाई भोट हालेर पठाएकै थिए । गाउँमा आउँदा घाँटीभरी माला पहिराएकै थिए । एकातिर बाबु आमा पार्टीका नेताहरुलाई स्वागत र सम्मान गर्दै थिए तर छोराछोरी बाबु आमाले नेताहरुलाई गरेको भक्तिभाव प्रति अनुदार हुँदै गएका थिए । छोराछोरी अनुदार हुनुको एउटै कारण हो उनीहरुले नेपालमा भविष्य देखेनन् । नेपालमा भविष्य पनि नहुने अनि विदेश जान सक्ने अवस्था सबैको छैन । सक्ने त विदेश जालान् बाँकीले के गर्ने भनेर चिन्तामा थिए । जेन–जी अर्थात युवाहरु जसले मेहनत गरेर अध्ययन गरे । भविष्य राम्रो होला भनेर पढाईमा मेहनत गरे तर प्रतिफल आउने बेला शुन्य हुन लाग्यो । सत्तामा बस्दा नागरिकका सवालमा भन्दा कसरी आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भन्नमै समय बिताए । जे गरे पनि हुन्छ भन्ने मानसिकता बलियो हुँदै जाँदा सरकारको रबैया स्वच्छेचारी मात्र भएन अहिले आएर निरकुंश भयो । राजावादी र दुर्गा प्रसाईको आन्दोलन दबाउन सफल भएपछि नेताहरुमा अहंकार बढ्दै गयो तर आफुलाई सुधार्न ध्यानै दिएनन् । राजावादी र दुर्गा प्रशाईको शान्तिपूर्ण आन्दोलनलाई बिथोल्न राज्यको भएभरको शक्ति प्रयोग      गरियो । आफ्ना बिरुद्ध आवाज उठाउनेहरुलाई निर्मम तरिकाले चुप लगाउनु नै निरकुंशता हो भनेर नागरिकले पनि समयमै बुझ्न सकेनन् । सरकारले राजावादी र दुर्गा प्रसाईको शैलीमा आन्दोलन तुहाउने योजना बनायो तर पापको घैंटो मजाले फुट्यो । अति गरेका थिए । सरकारका बिरुद्ध आवाज निकाल्नेहरुको हुर्मत लिएर मुर्दा शान्ति बनाएका थिए । प्रजातन्त्रका लागि लडेका वर्तमान नेताहरु आफु सत्तामा गएपछि मुर्दा शान्ति खोज्न थाले । मुर्दा शान्तिको सोचलाई युवाहरुले चर्काे आवाज उठाए । त्यही चर्काे आवाजको रुप हो २३ गतेको आन्दोलन । २३ गते देशभर जनतका लागि भएको आन्दोलन २४ गते देशभर आगजानी र लुटपाटमा परिणत भयो । अनाहकमा युवाहरुको ज्यान गएको छ । यो दर्दनाक अवस्थालाई नियाल्ने हो सबै कही न कही चुकेको अवस्था छ । करिब ५३/५४ जनाको निधन युवाहरुको शान्तिपूर्ण आन्दोलन भाड्ने प्रयासमा लाग्यो । विद्यालय पोशाकमा आएका निहत्था युवाहरुको अनाहकमा ज्यान लिने काम भएको छ जुन वर्षाै देखिको पाप धुरीबाट कराएको हो भन्दा उचित होला । पटक पटक जनतालाई ठग्दै आएका थिए । यसपटक पाठ सिकेको हुनुपर्छ । पाठ सिकेर नेताहरुले काम गर्ने हो भने मुलुक फेरी उठ्छ , त्यतिबेला भ्रष्ट र दलालको अन्त भइसक्ने छ ।