जेसी च्याम्पियनले असमानता हटाउन समुदायलाई सचेत बनाउंदै

टीकापुर,१२ फागुन/शिक्षक भिखुलाल चौधरी आजभोलि घर तथा भान्साको सबै काम गर्नु हुन्छ । पहिले उहाँलाई लैगिक समानताका लागि घरायसी काम, भान्साको काममा पुरुषले पनि सघाउनुपर्छ भन्ने लागेको थिएन । २ वर्षअघि टीकापुर नगरपालिकाले दिएको जेसि च्याम्पियन तालिममा सहभागी भएपछि उहाँको दैनिकी फेरियो । हाल उहाँले सबै काम गर्नुहुन्छ,परिवारमा जसलाई जे सहयोग आवश्यक हुन्छ त्यो काममा सघाउनुहुन्छ ।


टीकापुर नगरपालिकलो हजार दिने महिला तथा बालबालिकाको स्वास्थ्य र पोषण सुधारका लागि पुरुष परिवर्तनका सम्बाहक निर्माण गरी महिला तथा पुरुषको सक्रीयता बढाउनका लागि जेसी च्याम्पियन बनाएको छ । च्याम्पियन छनोट गरेकालाई लैगिक समानताबारे जानकारी दिने, समानताका लागि भान्सा बाटै शुरु गर्नुपर्नेमा सचेत गराउने गरेको छ । बुधबार जेसी च्याम्पियनहरु को समिक्षा गोष्ठी गरिएको छ ।
संयुक्त परिवारमा बस्ने चन्द्रा रेग्मी पनि यो तालिममा सहभागी भएपछि धेरै परिवर्तन हुनुभएको छ । उहाँले आफूले सिकेका कुरा आमा समूहमा हजार दिनका आमा तथा परिवारका सदस्य राखेर छलफल गर्न थाल्नुभएको छ ।
टीकापुर ३ घीयाका दिलबहादुर चौधरी पनि धेरै बदलिनु भएको छ । उहाँको घरमा आजभोलि विभेद गरिदैन ।


त्यस्तै जवालसिंह तिरुवा अझ बढी बदलिनु भएको छ । उहाँले समान ब्यवहार, समान काम, पोषणयुक्त खानेकुरा मात्र होइन, सम्पत्तिमा समेत महिलाको समान अस्तीत्व हुनुपर्छ भनी अविवाहित छोरीलाई समान सम्पत्ति दिनुभएको छ ।
टीकापुर ६ का ओमलाल सुनारले पनि घरायसी काम बराबरी गर्न थाल्नुभएको छ । उहाँले आफू परिवर्तन हुनुका साथै समुदायमा हजार दिने आमा र बालबालिका को स्वास्थ्यका लागि पुरुष तथा परिवारलाई जिम्मेवार बनाउन अरुलाई सिकाउन थाल्नुभएको छ ।
सुआहारा कार्यक्रमका नरबहादुर विश्वकर्माले स्वास्थ्य र पोषणलाई सुधार गर्न लैगिक असमनतालाई हटाउन टीकापुरमा केही राम्रा अभ्यास भएका बताउनुभयो ।
टीकापुर नगरपालिकाका लेखा अधिकृत लक्ष्मी ओडले बच्चा जन्माउने देखि बच्चा पालनपोषण तथा स्याहार गर्ने जिम्मा महिलाकै हो भनी बुझ्नु गलत भएको बताउनुभयो । ओडले पुरुषहरुले बच्चा स्याहार गर्नसक्ने भएकाले सामाजिक परिवर्तनका लागि बदलिन आवश्यक छ भन्नुभयो ।
कार्यक्रममा सुआहाराका विश्वकर्मा र जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका सिनियर अनमी हेमा ज्ञवालीले सहजीकरण गर्नुभएको थियो ।
टीकापुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रम युएसएआइडी र सुआहाराको प्राविधिक सहयोगमा भएको थियो । कार्यक्रम सञ्चालन महिला तथा बालबालिका शाखाका अस्तुर्नी चौधरीले गर्नुभएको थियो ।