टीकापुरको गणेश मन्दिरमा श्रीमद्भागवत कथा शुरु

टीकापुर,७ बैशाख/टीकापुर १ ब्लक नम्बर १३ स्थित गणेश मन्दिरमा शनिबारदेखि श्रीमद्भागवत सन्त समागम हरि कथा –२०८२ शुरु भएको छ । महायज्ञ मूल समारोह समितिका अध्यक्ष कुमारराज शाहीको अध्यक्षतामा भएको महायज्ञ नगर प्रमुख रामलाल डगौरा थारुले उद्घाटन गर्नुभएको हो । महायज्ञ उद्घाटन गर्दै थारुले मन्दिर व्यवस्थापन तथा मर्मतका लागि सहयोग गर्ने बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख कृष्ण थापाले धार्मिक गतिविधिले आर्थिक संकलन हुनेमात्र नभइ कला संस्कृतिलाई समेत जर्गेना गर्ने गरेका बताउनुभयो । कार्यक्रममा वडा नं। १ का वडाध्यक्ष गंगाराम आचार्यले गणेश मन्दिर विकासमा सबैलाई सक्दो सहयोग गर्न अनुरोध गर्नुभयो ।

बिहान ११ बजेबाट शुरु भएको कलशयात्रा मन्दिरबाट शुरु भइ खडकचोक, सामुदायिक रेडियो टीकापुर एफएम चोक, खुला मैदान हुँदै मन्दिर पुगेको थियो । कलशयात्रामा ३ सय बढी सहभागी थिए । श्रीमद्भागवत कथा वैशाख १३ गतेसम्म चल्नेछ । कार्यक्रममा कथावाचक तथा आचार्य कौशिक जी महाराजले प्रबचन दिइरहनु भएको छ । मन्दिरको विकास र धार्मिक जागरणका लागि मन्दिर परिषरमा सप्ताहब्यापी कथा वाचन हुनेछ । कार्यक्रममा स्वागत मन्दिरका सदस्य शेरबहादुर विष्टले गर्नुभएको थियो भने सञ्चालन सचिव हरिराम चौधरीले गर्नुभएको थियो ।

कार्यक्रममा दानवीरहरुलाई सम्मान गर्ने कार्यक्रम राखिएको छ भने ब्रतबन्ध, तुलादान, भूमिदान, अन्नदान, बिशेष पूजा, ब्राह्मण भोजन मार्फत कार्यक्रममा सहभागी हुने व्यबस्था मिलाइएको मन्दिरका अध्यक्ष पूर्णप्रसाद रेग्मीले बताउनु
भयो । प्रत्येक बिहान ६ बजेदेखि योग कक्षा, शालिग्राम पूजन तथा परिक्रमा कार्यक्रम हुनेछ । बिहान ७ बजेदेखि पूजा आरती हुनेछ । २ बजेदेखि ४ बजेसम्म झाँकी सहित कथा बाचन हुनेछ । बालबालिकाका ५ बजेदेखि ७ बजेसम्मकार्यक्रम र ७ बजेदेखि १० बजेसम्म प्रवचन तथा भजन कृतनका कार्यक्रम हुनेछन् ।