टीकापुरमा उद्योग सञ्चालनमा

टीकापुर, २६ साउन/जिआर नेपाल एण्ड एएमवी ग्रुपले दालमोट तथा अगरबत्ति उद्योग सञ्चालन मा ल्याएको छ । उद्योगले टीकापुरमा साउन महिना देखि उत्पादन शुरु गरेको हो ।
पहिलो चरणमा दालमोट, नम्किन, चना र मटर फ्राई उत्पादन गर्न थालेको छ भने अगरबत्ति र मच्छर धुप पनि उत्पादन शुरु गरेको छ । दशैपछि बनाना चिप्स, बिभिन्न खाले कुरकुरे पनि उत्पादन हुने बताइएको छ । उद्योगले जिरा, धनीया,ज्वानो, मरिच तथा अन्य मसाला प्याकिङ शुरु गरेको छ । यसरी प्याकिङ गरिएका मसला गुर्णस्तरीय हुने उद्योगको भनाई छ ।


टीकापुरलाई केन्द्र मानेर सुदुरपश्चिमका बिभिन्न जिल्लामा बिभिन्न कम्पनीसंग मिलेर स्वास्थ्य , शिक्षा , रोजगार , कृषि सहकारीको क्षेत्रमा काम गर्ने योजना रहेको कम्पनीका प्रमुख गोबिन्द बजगाईले बताउनु भयो । ‘‘यस क्षेत्रका लागि अवसर हो,ठूलो परियोजना टीकापुर क्षेत्रमा आउँदै छ ,’’ बजगाईले भन्नुभयो,‘‘ बिद्युतिय सवारी साधन चार्ज गर्ने स्टेशन पनि जडान गर्ने योजना छ । ’’ उहाँले बिद्युतिय सवारी साधनका साथै स्वास्थ्य र कृषि क्षेत्रमा ठूलै क्रान्ति ल्याउने गरी काम गर्ने योजना बनाएको बताउनुभयो । स्थानीय उत्पादन लाई बजारीकरण गर्नुको साथै स्थानीय उत्पादनलाई प्रयोग गरेर उद्योग सञ्चालन गर्ने रणनीति बनाएको उहाँको भनाई थियो । ठूलो व्यापारीक घरानाले लगानी गर्ने मनसाय बनाएकाले टीकापुरबासीले फाइदा उठाउनुपर्नेमा उहाँको जोड थियो ।
उद्योग सञ्चालनमा आएपछि एक दर्जन स्थानीयले रोजगार पाएका छन् । उद्देश्य अनुसार काम भयो भने सयौंले रोजगार पाउनेछन् भने स्थानीय उत्पादनले बजार पाउने भएको छ । यसरी रोजगार दिने गरी सञ्चालनमा आएका उद्योगलाई स्थानीय सरकारले सक्दो सहयोग गर्नुपर्ने स्थानीयको भनाई छ । मन्दीका बेलामा टीकापुरमा लगानी गर्न आउने व्यबसायीलाई नगरपालिका ले सहयोग गर्नुपर्ने सामाजिक अगुवा निर्मला कडायतले बताउनुभयो । उहाँले टीकापुर क्षेत्रमा लगानी गर्न आउने उद्योगपति र व्यबसायीलाई सम्मान दिएर सरकारले सहयोग गर्ने तत्परता देखाउनुपर्छ भन्नु भयो ।