टीकापुर, १३ जेठ/टीकापुरमा केरा बजार प्रवद्र्धनका लागि कृषक, ब्यापारी तथा सरोकारवालासंग अन्तर्किया गरिएको छ । रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले छलफल गरेको हो ।
कार्यक्रममा ३ वटा पालिका टीकापुर जानकी र लम्किचुहाका कृषि शाखाका कर्मचारी, मुल कुला समितिका पदाधिकारी, कुला समितिका प्रतिनिधि, कृषक, थोक ब्यापारी, मध्यस्थकर्ता ब्यापारी, खुद्रा ब्यापारी सहभागी थिए । कार्यक्रममा केरा किसानका समस्या समाधान गर्न सरकारले नीतिगत रुपमा सुरक्षा प्रदान गर्नुपर्ने माग गरिएको छ ।
यसका साथै केरामा देखिएको पानामा रोगबाट जोगाउन सहयोग हुनुपर्ने माग गरिएको छ । यो सिजनमा नेपालमा केरा अभाव हुने, भारतीय केराले बजार ढाक्दा यहाँ उत्पादन भएको केराले समेत मूल्य नपाएको किसानको गुनासो छ । यसका साथै केरामा प्रयोग हुने विषादीको कम प्रयोगबारे ब्यापारी र एग्रोभेट सञ्चालक जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ ।

विषादीको प्रयोग घटाउन स्थानीय सरकारले ध्यान दिनुपर्ने, समयमै ध्यान नदिए घरघरमा बिरामी बढ्ने अत्तरियाका थोक ब्यापारी नन्दलाल भट्ट बताउनु हुन्छ ।
थोक ब्यापारी तथा च्याम्बर सञ्चालक कर्णबहादुर मल्लले ४ महिना फागुनदेखि जेठसम्म नेपाली केरा पाउन समस्या हुने गरेपनि आफुले स्वदेशी केरालाइ नै स्थान दिएको बताउनुहुन्छ ।
केरा व्यवसायी टेकेन्द धामीले टीकापुरमा स्थापना भएर बन्द भएको च्याम्बरले किसानको ३२ लाख तिर्न बाकी रहेको जानकारी दिंदै पालिकाले केरा व्यवसायका लागि छुट्याइएको बजेट काटेको बताउनुभयो ।
कार्यक्रममा किसान शेरबहादुर साउँदले आयोजनाका प्राविधिकले किसानको बारीसम्म पुग्नुपर्ने माग गर्नुभयो ।
केरा व्यवसायी सघका अध्यक्ष दिपेन्द्र चौधरीले परियोजनाले केरा खेतीमा मात्र नभइ प्रविधि, बैज्ञानिक प्रविधि, गुणस्तर र बजारीकरणमा सघाउनुपर्ने बताउनुभयो । उहाँले नेपाली किसानको बारीमा केरा डम्पिङ भइरहेको बताउदै केरा किसान लाई सरक्षण गर्नुपर्ने बताउनुभयो ।
आयोजनाको कमाण्ड क्षेत्रका ३ पालिकामा साढे ५ सय हेक्टरमा केरा खेती हुने गरेको छ । कार्यक्रममा कृषि विज्ञ कृष्ण न्यौपानेले कृषिमा असल अभ्यासका लागि किसानलाई अझै सचेतना चाहिएको, विषादीको अत्यधिक प्रयोग घटाउन प्राविधिक ज्ञान दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा आयोजनाका प्रमुख भरत कँडेल, सुदूरपश्चिम विश्वविद्यालय कृषि सङ्काय टिकापुरका उप प्राध्यापक आशिष घिमिरेले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम पशु स्वास्थ्य प्राविधिक पुष्पराज भारतीले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा रानी जमरा कुलरिया मूल कुला समितिका सचिव परशुराम महत्तोँले बहु उपयोगी बालीकारुपमा रहेको केरा खेती बजारीकरण र प्रवद्र्धन गर्न योजना बनाएर सहाउनुपर्ने बताउनुभयो ।
जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले भातको विकल्पका रुपमा केरा प्रयोग गर्न सकिने भएकोले उत्पादन र बजारिकरण मा ध्यान दिनुपर्ने बताउनुभयो ।
टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले पालिका सग बजेट अभाव भएकोले कृषिमा सोचेजस्तो गर्न नसकेको बताउनुभयो । उहाँले बजेट तर्जुमा गर्ने तयारीमा रहेकाले केरा किसानका माग आए समेट्ने बताउनुभयो ।
कार्यक्रम समापन गर्दै आयोजना प्रमुख कडेलले एग्रोभेट सञ्चालक सेवामुखीभन्दा लाभमुखी भएकोले समस्या भइरहेको बताउनुभयो । सबै किसानलाई तालिम दिएकाले सचेत हुन आग्रह गर्नुभयो ।