टीकापुरमा ठेक्कामा प्रतिश्पर्धा भएन २० ओटा ठेक्कामा ४.३४ प्रतिशत मात्रै घटे

एकिन्द्र तिमिल्सेना

टीकापुर, १८ बैशाख/ठेक्का हाल्दा हुलहुज्जत र अवरोध नहोस र प्रतिश्पर्धामा सहज होस भनी इ–विडिङ शुरु भएपनि यसवर्ष टीकापुर नगरपालिकाका केही ठेक्कामा निर्माण व्यवसायीको मिलेमतो भएको छ । टीकापुर नगरपालिकाको चालू आर्थिक वर्षमा ठेक्का लागेका २० वटा योजना केलाउँदा निर्माण व्यवसायीहरुले मिलोमतो गरी प्रतिश्पर्धा नगरेको पाइएको छ । यहाँ ठेक्का बोल्दा निर्माण व्यवसायीहरु मिलेर विना प्रतिश्पर्धा ठेक्का हात पारेका      छन् ।
जय प्रभु निर्माण सेवाले एक करोड एक लाखको ठेक्का ९९ लाखमा पाएको छ । यस्तै हिडा कन्स्ट्रक्सनले ४२ लाख ८५ हजारको ठेक्का ४१ लाख ७५ हजारमा पाएको छ । जयप्रभु र हिडाले जस्तै अरु १८ वटा ठेक्का पनि प्रतिश्पर्धा न्यून भएको छ ।
नगरपालिकाले ठेक्का खुलाएका १० करोड ६० लाख ७ हजार रुपियाँका २० वटा योजना १० करोड १४ लाख ६५ हजार रुपियाँमा सदर भएका छन् जुन जम्मा ठेक्का रकमको ४ दशमलव ३४ प्रतिशत मात्रै घटी हो । ठेक्कामा प्रतिश्पर्धा हुँदा ४० प्रतिशतसम्म घटेर ठेक्का कबोल हुने गरेकोमा यसपटक ११ वटा योजना पाँच प्रतिशतभन्दा कम र नौ वटा योजना सात प्रतिशत भन्दा कम घटेर ठेक्का लागेका छन् ।
विगतका वर्षमा ठेक्कामा प्रतिश्पर्धा हुँदा बचेको रकमबाट पुनः ठेक्का खोली करोडौंको काम हुने गरेको थियो तर यस वर्ष ठेकेदारले सेटिङ मिलाएका कारण प्रतिपर्धा नभएको जानकारहरु बताउछन् । नगरपालिकाका इन्जिनियर नवीन ओझा भने ई–विडिङ भएकाले ठेक्का हाल्ने समय समाप्त भएपछि मात्रै थाहा हुने भएकाले नगरपालिकाले केही गर्न नसकेको बताउनुहुन्छ।।
नगरप्रमुख रामलाल डगौरा थारु पहिलो चोटी निस्केका ठेक्कामा ठेकेदारको एउटा समूह लागेर केहीलाई धम्काएको र केहीलाई सेटिङमा मिलाएकाले प्रतिश्पर्धा नभएको कुरा आफूले पछि थाह पाएको बताउनु हुन्छ ।
पार्टीहरुको चासो कम
ई–विडिङ गर्दा पनि ठेक्कामा मिलेमतो भएको विषयमा टीकापुरस्थित राजनीतिक दलहरुलाई खाशै चासो छैन । पार्टी नेताहरुको नगरपालिकाका काम बारे जानकार नहुने र ठेक्कापट्टामा लागेका व्यक्तिहरु पनि दल निकट हुने भएकाले यसमा खुलेर विरोध जनाउन चाहँदैनन् ।
नेपाली कांग्रेसका नगरसभापति नरेशकुमार खत्री प्रतिश्पर्धाबाट घटेको रकमले अर्को काममा लगाउन पाइन्थ्यो त्यो फाइदा हुन्थ्यो ।
नेकपा एमालेका नगर अध्यक्ष धु्रवराज खत्री ठेक्कामा प्रतिश्पर्धा नहुनु गलत भएको र घटाघट भए बचेको पैसा नगरकै शिक्षा, स्वास्थ्य जस्ता आवश्यक विषय मा लगाउन सकिने अवसर गुमेको बताउनु हुन्छ ।
काँगे्रसका खत्री जस्तै नेकपा माओवादी केन्द्रका नगर सचिव खुसीराम चौधरी प्रक्रिया पूरा गरेर पाएको ठेककामा काम गर्न पाउनु ठिकै भएपनि प्रतिश्पर्धा नहुनु र जनगुनासो आएकाले अबका प्रक्रियालाई नयाँ तरिकाले अपनाउनु पर्ने बताउनु हुन्छ ।
नागरिक उन्मुक्ति पार्टीका नगर अध्यक्ष जितबहादुर चौधरी ठेकेदारको मिलेमतोप्रति चिन्ता व्यक्त गर्दै प्रतिश्पर्धा बाट नगरपालिकालाई हुने फाइदा गुमेकोले यस्ता ठेक्काहरु नै रद्ध गरी पुनः ठेक्का हुनुपर्छ ।
प्रतिश्पर्धा भएको ठेक्कामा पशुपति कन्सट्रक्सन धनगढीले दुई करोडको ठेक्कामा घटेर एक करोड २७ लाख ४१ हजार ९३६ दशमलव २९ प्रतिशत० मा ठेक्का लिएको छ । उसले टीकापुर नगरपालिकाको वडा नम्बर ७ स्थित दलित तथा मगर बस्ती आवास बनाउने ठेक्का पाएको हो । प्रतिपर्धा हुँदा एउटै योजनाबाट ५८ लाख ७३ हजार वचत भएको छ ।