टीकापुरमा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिरण

टीकापुर , १३ बैशाख/टीकापुरमा बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण भएको छ ।
अभिमुखिकरणमा सरकारले २०८७ सम्म बालमैत्री स्थानीय शासन घोषणा गरिसक्ने लक्ष्य लिएकाले त्यसअघि पालिकालाई बालमैत्री स्थानीय शासन पालिका घोषणाका लागि सबै सक्रीय हुनुपर्नेमा जोड दिइएको छ ।
अभिमुखिकरणमा यस चालु आर्थिक वर्षभित्र कुनै १ वडालाई बालमैत्री वडा घोषणाका लागि काम गर्ने जनप्रतिनिधिले बताएका छन् ।
बालमैत्री स्थानीय शासन घोषणाका लागि २०८० पुस २१ गतेको कार्यपालिका बैठकले समिति गठनका लागि निर्णय गरिसकेकाले तत्काल नगर स्तरीय समिति गठन, समिति मातहत रहने गरी कार्यान्वयन समिति गठनका लागि कार्यपालिकामा लैजानेबारे छलफल भएको छ । बालबालिकाका अधिकार संरक्षण का लागि नीतिगत कानूनी प्रवन्ध गर्ने, पालिकालाई बालमैत्री स्थानीय शासन उन्मुख गराउने, कुनै १ वडालाई बालमैत्री वडा घोषणा गरिने बताइएको छ ।


कार्यक्रममा सहजीकरण गर्दै अधिबक्ता झंकर कुँवरले बालमैत्री स्थानीय शासनका लागि सरकारले थुप्रै कानूनी व्यवस्था गरेकाले स्थानीय पालिकाले बाल बालिकाको अधिकार संरक्षणका लागि एकिकृत रुपमा लगानी गर्नुपर्ने बताउनु
हुन्छ ।
टीकापुरका शिक्षा अधिकृत नरेश अवस्थी बाल सहभागिता लगायतका केही सूचक शिक्षा क्षेत्रका समेत रहेकाले बालबालिका विद्यालय टिकाउने, अतिरिक्त क्रियाकलापमा जोड, अभिभावक विहीन बालबालिकाको शिक्षा जस्ता कुरामा लगानी बढाउँदै गएका बताउनुहुन्छ ।
सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ४ का वडाध्यक्ष लालविर चौधरीले पालिकाले बालमैत्री स्थानीय शासन घोषणाका लागि सूचक पूरा गर्न स्वास्थ्य, शिक्षासँग सम्बन्धीत भएर काम गरिरहेका बताउनुहुन्छ ।
चौधरीले बालबालिकालाई जोगाउन, शिक्षा विकासमा सघाउन विभिन्न कार्य हुँदै आएकोमा जोड दिनुहुन्छ ।
युनिसेफ नेपालको आर्थिक सहयोग तथा स्थानीय तहसँगको समन्वयमा सामुदायिक विकास केन्द्रले कैलालीको टीकापुर नगरपालिका र कैलारी गाउँपालिकामा किशोरी सशक्तीकरण परियोजना सञ्चालन गरिरहेको छ । यस कार्यक्रम अन्तर्गत टीकापुरमा बाल मैत्री स्थानीय शासन सम्बन्धि १ दिने अभिमुखिकरण भएको हो । कार्यक्रममा जनप्रतिनिधि, बाल क्लवका प्रतिनिधि, विषयगत शाखा प्रमुख सहभागी थिए ।
पालिकालाई बालमैत्री शासन पालिका घोषणाका लागि विभिन्न ५१ सूचक पूरा गर्नुपर्छ । टीकापुरमा यसअघि बालकल्याण संघको सहयोगमा बालमैत्री स्थानीय शासनका लागि विभिन्न प्रयास र काम भएका छन् । वडा नं. ६ मा ५१ मध्ये धेरै सूचक पूरा पनि भएका छन् ।