टीकापुरमा शीतभण्डार निर्माण अन्तिम चरणमा

टीकापुर, २० असार/राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले टीकापुरमा निर्माण गरिरहेको शीत भण्डार अन्तिम चरणमा पुगेको छ ।
आयोजना र उपभोक्ताको लागत तथा सहभागितामा शीत भण्डार निर्माण हुन लागेको हो ।
करिब ७ करोड ६ लाख ६९ हजार ६ सयको लागतमा निर्माण भएको शीतभण्डार १ हजार मेटिूकटन क्षमताको रहेको छ । शीत भण्डार आयोजनाको ८० प्रतिशत र उपभोक्ताको २० प्रतिशत लगानी मा निर्माण भइरहेको हो । अहिले सम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ भने भुक्तानी ६५ प्रतिशत भएको आयोजनाले जानकारी दिएको छ ।


१७ सय उपभोक्ताले ७४ लाख रुपैया उठाएका छन् भने उपभोक्ताले उठाउने थप रकम मध्य ६७ लाख रुपैया टीकापुर नगरपालिकाले अनुदान दिएको छ ।
शीतभण्डार सञ्चालन भएपछि शुरुमा यहाँका आलु खेती गर्ने किसानलाई ठूलो राहत हुने भएको छ भने भविष्यमा फलफूल र तरकारीका लागि पनि प्रयोग गर्ने योजना छ । यहाँ उत्पादनको भएको आलू कोहलपुर र महेन्द्र नगरका कोल्ड स्टोरमा राख्न बाध्य भएका किसानले टीकापुरमा कोल्ड स्टोर निर्माण हुन थालेपछि आलु उत्पादन बढाउन थालेका छन् । अघिल्लो बर्ष नै तयार हुनुपर्ने कोल्ड स्टोर तयार नभएपछि कतिपय किसानले संस्तो मुल्यमा आलू बिक्री गरेका छन् ।
आयोजनाका प्रमुख भरत कँडेल किसानले उत्पादन गरेको आलु, तरकारी र फलफुल उत्पादनले राम्रो मूल्य पाओस भनी आयोजना ले शीत भण्डार निर्माणमा सघाएको बताउनुहुन्छ ।
परामर्शदाता इञ्जिनियर मदन धामी विशेष गरी आलु भण्डारणका लागि बनेको, एक हजार मेटिूक टनको दुई वटा च्याम्बर बनिरहेको बताउनुभयो । यो शीतभण्डार बहुउपयोगी हुने बताउनुभयो ।
किनारा निर्माण सेवा धनगढीका निर्माण व्यवसायी सुभाष बोहरा शीतभण्डार निर्माणका लागि आवश्यक सामग्री केही स्वदेशमै र केही भारतबाट ल्याइएको बताउँदै समयमै काम सकिने बताउनुहुन्छ।।
रानी जमरा कुलरिया मूल कुला समितिका सचिव परशुराम महत्तो आयोजनाले किसानलाई व्यवसायिक बनाएको, उद्यमी किसान उत्पादन गरेको, व्यवसाय र बाली विविधिकरणमा किसानको धारणा परिवर्तन भएको बताउनुभयो । उहाँले शीत भण्डार बनेपछि आलु खेती गर्ने किसानले फाइदा लिनसक्ने बताउनुभयो ।
शीतभण्डार सञ्चालन भएमा कैलालीको टीकापुर र लम्कीचुहा नगरपालिका तथा जानकी गाउँपालिकाका किसानले यसबाट लाभ लिन सक्नेछन् । आयोजनाले शीत भण्डार निर्माण सम्पन्न पछि कुला समितिलाई हस्तान्तरण गर्ने र मूल कुला समितिले सञ्चालन गर्ने योजना बनाइएको छ । जसका लागि मूल कुलाले शीत भण्डार व्यवस्थापन समिति गठन गरेर सञ्चालन हुनेछ ।