टीकापुर, २ मंसिर/मन्दिर निर्माणका लागि टीकापुरमा श्रीमद भागवत महायज्ञ शुरु भएको छ ।
टीकापुर नगरपालिका वडा नं.७ स्थित बैंकटेश्वर लक्ष्मी नारायण मन्दिरको आयोजनामा महायज्ञ शुरु भएको हो । अधुरो मन्दिर निर्माण र प्राण प्रतिष्ठाका लागि महायज्ञ आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख मोहन लुहार विकले आस्थाको धरोहर मन्दिर निर्माणका लागि महायज्ञ गरिएकाले महायज्ञ बाट उठेको रकममा मन्दिरको विकासका लागि नगरपालिकाले पनि लागत साझेदारी रहने बताउनुभयो ।

कार्यक्रममा कथावाचन अन्र्तराष्ट्रिय भागवत कथावाचक खगेन्द्र जी महाराजले गरिरहनु भएको थियो ।
कार्यक्रम उद्घाटन समारोहमा कथावाचक खगेन्द्र जी महाराजले महापुराणमा आफूले आफूलाई बदल्ने अवसर मिलेको बताउनु भयो । उहाँले महापुराणमा सहभागी भएमा तन, मन शुद्ध हुनुका साथै भाव जागृत हुने भएकाले महायज्ञमा सहभागी हुन आग्रह गर्नुभयो । ।
महायज्ञ आयोजक समितिका सदस्य सारदा ढुंगानाले आफ्ना लागि आफैले गर्नुपर्ने बताउँदै मन्दिरलाई पूर्णता दिन टीकापुरबासीको साथ र सहयोग चाहिने बताउनुभयो ।
महायज्ञ आयोजक मूल समितिका संयोजक चन्द्रकला रावलले टीकापुरबासीले साथ दिएमा मन्दिर निर्माण पूरा हुने भएकाले सकेको दान गर्न र कथाश्रवणमा सहभागी हुन आग्रह गर्नुभयो । कार्यक्रममा स्वागत मन्दिरका सचिव रत्न प्रसाद पोख्रेलले गर्नुभएको थियो । कार्यक्रम तुलसी देवकोटाले सञ्चालन गर्नुभएको थियो ।
महायज्ञमा दैनिक पुजा विहान ७ बजेदेखि ८ बजेसम्म हुनेछ । मूल पारायण ८ बजेदेखि १० बजेसम्म हुनेछ । कथा वाचन विहान ११ बजेदेखि २ बजेसम्म र बेलुका ६ बजेबाट महात्मय, भजन एवं झाकी प्रस्तुत गरिने छ ।
महायज्ञमा ब्रतबन्ध, तुलादान लगायतका धार्मिक कर्महरु समेत हुनेछन् ।