टीकापुर,१२ मङ्सिर/“सफा घर स्वच्छ वातावरण स्वस्थ जिन्दगानी, हाम्रो गौरब, हाम्रो पौरख हाम्रो खानेपानी” भन्ने नाराका साथ टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले सरसफाइ सप्ताह शुरु गरेको छ ।
संस्थाको वातावरण तथा सरसफाइ समितिको आयोजनामा भएको कार्यक्रमको पहिलो दिन सोमबार टीकापुरमा प्रभातफेरि गरेको छ ।
प्रभातफेरि कार्यक्रमको उद्घाटन गर्दै टीकापुर नगरपालिकाका उपप्रमुख खडक बहादुर शाहले सरसफाइ सबै मानिसका लागि अति आवश्यक रहेकाले खानेपानीको आयोजनामा भैरहेको सरसफाइ सप्ताह सांकेतिक भएपनि हरेक नागरिक सरसफाइमा सचेत हुनुपर्ने बताउनु भएको छ ।
उहाँले फोहोर व्यवस्थापनको मूख्य कार्य नगरपालिकाको भए पनि नगरवासीले कुहिने नकुहिने लेखेका भाँडामा बस्तु हेरी फोहोर फाल्न पनि अनुरोध गर्नुभयो ।
कार्यक्रममा टीकापुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष मोहन विक, खानेपानीका संस्थापक अध्यक्ष नवराज रावलले मन्तव्य राख्नु भएको थियो ।
संस्थाका अध्यक्ष नरेश केसीले सप्ताह व्यापी कार्यक्रमका बारेमा चर्चा गर्दै स्वागत गर्नु भएको थियो ।
सरिता रावलको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरु, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी भएका थिए । खानेपानी संस्थाको कार्यालय बाट शुरु भएको ¥यालीले बजार परिक्रमा गरी कार्यालय परिसरमा पुगेर टोल समूहका संयोजकहरु लाई सरसफाइ सामग्रीहरु हस्तान्तरण गरी समापन भएको थियो ।