टीकापुर, १० असार/टीकापुर सामुदायिक पुस्तकालय तथा रिड नेपालको साझेदारीमा सञ्चालित सुरक्षित आप्रवासन तथा बैदेशिक रोजगारी सचेतनामूलक कार्यक्रम दियो परियोजनाले सरोकारवालाको बैठक गरेको छ ।
परियोजनाले विदेश जाने युवालाई पुस्तकालयमा खुलेको सूचना केन्द्र मार्फत सूचना दिने काम भैरहेको र दुईवटा विद्यालय र एउटा समुदायमा कार्यक्रम गरिरहेको छ ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय टीकापुरका निमित्त प्रमुख सर्वानन्द चपाईले विदेश जान पासपोर्ट बनाउनेलाई परामर्श अनिवार्य भैरहेको र सूचना नलिई गएकाहरू समस्यामा परिरहेको बताउनुभयो । गाउँ गाउँमा सचेतना कार्यक्रम गर्नुपर्ने चपाइको भनाइ छ ।
खड्गस्मृति माविका प्रधानाध्यापक केशरबहादुर रावलले विदेश जानका लागि ११÷१२ कक्षाका विद्यार्थी भाषा कक्षा पढिरहेका बताउनुभयो । उहाँले यसरी विदेश जान चाहनेहरुको ऋण लिने, डकुमेन्ट बनाउन पैसा खर्च हुने तर भिषा नलागेर समस्या भैरहे को अवस्थामा सूचना महत्वपुर्ण हुने बताउनु भयो ।
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक सुरज खड्काले विदेशमा केही वर्षमै धेरै कमाइ हुने भएकाले र देखासिकीका कारण विदेश जाने क्रम बढेको बताउँदै कम कमाई हुनेलाई सूचना दिन जरूरी रहेको बताउनु भयो ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष हरि तिमिल्सिनाले शिक्षा मै समस्या र सरकारले नयाँ नयाँ देशसंग सम्झौता गरिरहेको अवस्थामा जानेलाई सुसूचित गर्न जरुरी रहेको बताउनुभयो ।
समाजसेवी सुरत रावलले चोरबाटोबाट विदेश जानेलाई रोक्न र विदेश पुगेर दुख पाउनेहरूलाई सुरक्षित गर्न सरकार र समुदाय लाग्नुपर्ने बताउनुभयो ।
सामुदायिक पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष वीरेन्द्र साउद र सञ्चालन सचिव देवेन्द्र शाहले गर्नुभएको छ ।