टीकापुर, २१ भाद्र/टीकापुरमा सेवक नेपालको आयोजनामा समावेशी शिक्षण सम्बन्धी तालिम सम्पन्न भएको छ । शिक्षकहरूले विद्यार्थीलाई समान अवसरका साथ सिकाइमा सहभागी गराउने उद्देश्यले क्षमता अभिवृद्धि तालिम आयोजना गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथिमा टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौराले नेपालको शिक्षा प्रणाली सुद्धिकरण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालको शिक्षा नीतिमा नै समस्या रहेको बताउदै, साक्षर वर्गले श्रम नगर्ने, विषय विज्ञहरुले सम्बन्धित क्षेत्रमा काम नगरिदिने समस्याले यहाँ समस्या सिर्जना भएको बताउनुभयो । उहाँले नेपालको शिक्षा प्रणाली उत्पादन मुलक शिक्ष प्रणाली हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम संयोजक अरुण चौधरीले परियोजनाको मूल उद्देश्य भनेको विद्यालयमा सक्षम सिकाई वातावरण निर्माण गर्ने, विशेषगरी अपाङ्गता भएका बाल बालिकालाई विद्यालयको पहुँचमा ल्याउन, मौलिक अधिकार विद्यालय मा सुरक्षित गर्नका लागि परियोजना सञ्चालन गरेको बताउनु भयो । उहाँले समाज, विद्यालय स्तरमा अपाङ्गता भएका बालबालिकालाई हेर्ने दृष्टिकोणमा सकारात्मक सोच ल्याउने उद्देश्यका साथ तालिम आयोजना गरेको बताउनुभयो ।
तालिमका सहभागी शिक्षिका इन्द्र उपाध्याय ले विद्यार्थीहरुलाई कसरी पढाउने, कसरी मूल्याङ्कन गर्ने विषयमा आफूहरूमा अन्योलता रहेको बताउँदै, अपाङ्गता का विभिन्न प्रकारहरू रहेकाले ती विद्यार्थीहरु लाई समावेशी हिसाबले पढाइ वातावरण निर्माण गर्न तालिमले सहयोग पुगेको बताउनुभयो । उहाँले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्ने प्रतिबद्धता गर्नुभयो ।
शिक्षक नारायण ढुंगानाको अध्यक्षतामा भएको तालिममा टीकापुर, लम्कीचुहा नगरपालिका तथा जानकी गाउँपालिकाको समन्वय रहेको थियो । तीनवटै स्थानीय तहका २७ जना शिक्षक तथा शिक्षिकाकोहरूको सहभागीता रहेको तालिम ५ दिन सम्म सञ्चालन भएको थियो भने सहजिकरण योगेन्द्र चापागाईंले गर्नुभएको थियोे ।
गुडनेवर्स इन्टरनेशनल नेपाल को आर्थिक तथा प्राविधिक सहयोग र सेवक नेपालको आयोजनामा तालिम भएको हो ।