टीकापुरलाई बुझ्ने प्रयास गरौं

सम्पादकीय
टीकापुरमा व्यबस्थित बसोवास बसाउने गरी कल्पना गरेर सहरको विकास गर्ने योजना अनुसार स्वर्गिय खड्गबहादुर सिंहको पहलमा काम भएको छ । पहल गर्नेको नाम लिदा कतिपयलाई ज्वरो आउने गरेको छ । स्वर्गिय खड्ग बहादुर सिंहको पहलमा निर्माण भएको योजना अनुसार टीकापुर निर्माण भएको कुरा बेलाबखत बिर्सने प्रयास गरेको पाइन्छ भने कतिपयले भेगका आधारमा त कतिपयले प्रजातन्त्र बिरोधीको रुपमा बुझाउने प्रयास गरेको पाइन्छ । जे अर्थ लगाएपनि खड्गबहादुर सिंह र त्यो बेलाका कर्मचारीले गरेका राम्रा कामको सहना गर्दा कसैले धारे हात लगाउन जरुरी छैन । कसैको इतिहास मेटेर आफ्नो इतिहास लेख्न उद्यत सामाजिक कार्यकर्तासंग मुख लागेर केही हुँदैन । टीकापुरको भावना भनेको सबैको सह अस्तित्व हो । सबै थरीका मान्छेको बस्ती बसाउने उदेश्यका साथ शुरु भएको टीकापुरको नक्साकंन यतिखेर सबै थरीका मान्छे बसेका हुन् । कसैको संख्या अलि बढी होला कसैको कम होला । यसरी मिलेर बसालेको बस्तीमा पछिल्लो समय केहीले नितान्त भेग र जातका कुरा गरेर अवसर लिने र दिने गरेका छन् ।समाजमा बसेपछि अवसर सबैका लागि समान हुनुपर्छ भन्ने पुरानो मान्यतालाई अहिले लत्याएको पाइन्छ । टीकापुरको विकास जति हुनुपर्ने हो त्यति भएन भनेर अहिले गुनासो गर्ने गरिएको छ । टीकापुरका संघ संस्थामा नेतृत्व गर्नेहरुले पार्टीको आडमा होस् या अरु कुनै शक्तिका आडमा मनपरी गर्ने गरेका छन् । संस्थामा पारदर्शी नगर्ने अनी अवसर नितान्त केही सीमित व्यक्तिले लिन थालेपछि आपसमा द्वन्द बढ्न थालेको हो । कसैले काम गरेर खायो कि रिस गर्ने गलत संस्कार हुर्किदै गएको छ । टीकापुरमा बस्ने हरेक नागरिक सुखी होस् भन्ने कामना गर्नुको साटो काम गरेर दूई पैसा कमायो भनेर खोजि गर्ने गरिन्छ । काम गरेर खानेहरुको पछि लाग्ने तर विकास बजेट लुट्ने र संंघ संस्था लुट्नेहरुका बिरुद्ध चुइक्क नबोल्ने समाज कसरी अघि बढ्न सक्छ ? तसर्थ टीकापुरका हरेक नागरिकले सद्भाव कायम गर्न सामाजिक नेतृत्व सक्षम र बेदाग हुनुपर्छ भन्ने मान्यता लिएर काम गर्न जरुरी छ । दागैदाग भएकाले सामाजिक नेतृत्व लिन्छन् अनी शान्तिको कामना र समान अवसरका कुरा गर्छन् कसरी मेल खान्छ ? यस्ता बिषयमा टीकापुरबासी सचेत हुन जरुरी छ ।