टीकापुर अस्पतालमा डाइलासिस सेवा शुरु , नियमित हुन तीन महिना लाग्न सक्ने

टीकापुर,४ साउन/लामो प्रतिक्षापछि कैलालीको टीकापुर अस्पतालमा हेमोडाइलासिस सेवा शुरु भएको छ । अस्पतालमा पहिलो पटक असार ३१ गते एक जना बिरामीको डाइलसिस भएको हो । साउन १ गते सुुदूपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले डाइलासिस सेवाको उद्घाटन गर्नुभएको हो । मृर्गौला सम्बन्धि समस्या भएका बिरामीका लागि गरिने डाइलासिस सेवा स्वास्थ्य सेवा विभागले मेसिन उपलव्ध गराएपछि यहाँ सेवा शुरु भएको हो ।
सेवा सञ्चालनका लागि अस्पतालले रु। ४० लाख खर्च गरेको छ । सेवा सञ्चालनका लागि एक जना विशेषज्ञ चिकित्सक, ४ जना नर्सिङ स्टाफ र २ जना सहयोगीलाई तालिम दिइएको छ ।
यस्तै केही दिनका लागि एकजना तालिम प्राप्त स्टाफ नर्स यशोदा गिरीलाई महाकाली अस्पताल कञ्चनपुरबाट टीकापुर अस्पतालमा बोलाइएको छ ।
अस्पतालमा डाइलसिस सेवा शुरु भएपछि यस क्षेत्रका बिरामीले ठूलो राहत पाएका छन् । कैलाली को आधा भाग र बर्दियाको आधा जिल्लाले टीकापुरबाट सेवा लिन पाउने भएका छन् । यहाँका बिरामी धनगढी र नेपालगञ्ज जानुपर्ने बाध्यता टरेको छ । कतिपय नेपालगञ्ज र धनगढी जानुपर्ने अवस्था भएकै कारण काठमाण्डौ बसेर डाइलसिस गराउने गरेका छन् ।
‘‘डाइलसिस सेवा टीकापुर अस्पतालबाट शुरु हुने भनेको यस क्षेत्रका बिरामीलाई मात्र होइन बिरामीका आफन्तलाई समेत सजिलो हुने भयो’’, स्थानीय केशरी सोडारीले भन्नुभयो, ‘‘डाइलसिसकै लागि काठमाण्डौँ बसेका छौँ ।’’ हप्तामा दुई पटक डाइलसिस गर्न नेपालगञ्ज र धनगढी जानुपर्ने समस्या भएकै कारण काठमाण्डौमा बस्नुपरेको सोडारीले बताउनुभयो ।
दिनमा ४ जनाको डाइलसिस गर्न सकिने अस्पतालका चिकित्सक डाक्टर सन्देश पण्डितले बताउनु भयो । ‘‘फूल फेजमा चले पछि दैनिक ४ जनालाई सहजरुप मा सेवा दिन सकिन्छ’’, पण्डितले भन्नुभयो, ‘‘फूल फेजमा सञ्चालन हुन केही समय लाग्छ ।’’
सेवा सञ्चालन गर्न धेरै मेहनत गर्नु परेको अस्पतालका सुपरीटेण्डेन डाक्टर रेमकुमार राईले बताउनु भयो । ‘‘मन्त्रालयबाट सेवा शुरु गर्नुहोस् भन्ने कुरा आयो, सेवा सुरु गरेका छौँ’’, डाक्टर राइले भन्नुभयो, ‘‘अहिले शुल्क निर्धारण भएको छैन, निशुल्क सेवा दिइरहेका छौँ ।’’


सेवा लिनका लागि ३० जनाले नाम लेखाएको भन्दै डाक्टर राईले केही समय दिनमा एउटा लाई सेवा दिन्छौँ भन्नुभयो । ‘‘नियमित गर्नका लागि विभागमा सूचिकृत हुनुपर्छ, सुचिकृत हुनका लागि विभागबाट आएको टोलीले निरीक्षण गरेपछि हँुदो रहेछ’’, डाक्टर राईले भन्नुभयो, ‘‘यसका लागि कम्तीमा तीन महिना लाग्न सक्छ ।’’
टीकापुर अस्पतालमा डाइलासिस सेवा आवश्यक पर्छ भनी प्रदेश सरकारकारलाई माग गरिएको थियो । प्रदेश सरकारले डाइलाइसिस सेवा सञ्चालन गर्ने नीति वर्षेनी राखे पनि बजेट नछुट्टयाएपछि स्वास्थ्य सेवा विभागबाट पाँच वटा मेशिन ल्याई सेवा शुरु गरेको टीकापुर अस्पताल विकास समिति अध्यक्ष झपट बहादुर सोडारीले बताउनुभयो । ‘‘यहाँका नागरिक लाई डाइलासिस सेवा लिनका लागि सुविधा नहुँदा समस्या थियो’’, उहाँले भन्नुभयो, ‘‘हामीले अस्पतालमा सेवा विस्तारसँगै बिरामीका लागि सुविधा समेत थप्दै गएका छौँ ।’’