टीकापुर, ३० बैशाख/नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) र टीकापुर क्षेत्रमा रहेका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापकहरुसँग १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था को सभाहलमा भएको कार्यक्रम सहकारीका सचिव लालकेश जैशीको सभाध्यक्षतामा भएको थियो भने नेफ्स्कुनका कोषाध्यक्ष दिपक पनेरु प्रमुख अतिथि रहनु भएको थियो । जनकल्याणका संचालक तथा शिक्षा उपसमिती संयोजक जितबहादुर डगौराले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन व्यवस्थापक छबिलाल जैशीले गर्नुभएको थियो । कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि पनेरुले टीकापुर क्षेत्रमा आवश्यक तालिम लगायतका विषयमा सहजिकरणका लागि नेफ्स्कुनले सहयोग गर्ने बताउनुभयो । सहकारी संस्थाहरु ले थुप्रै राम्रा कामहरुपनि गरि रहेको अवस्था रहेपनि नराम्रा कुराको मात्र प्रचारप्रसार भैरहे को कारण राम्रो काम गर्ने सहकारी संस्थाहरु ओझेलमा परेको बताउनुभयो । सुदूरपश्चिम प्रदेशको सहकारी अभियान अन्य प्रदेशको भन्दा केहि कमजोर भएकोले यसको लागि नेफ्स्कुनले थप योजना ल्याउने बताउनुभयो । कार्यक्रममा टीकापुर बचत तथा ऋण सहकारीका अध्यक्ष महेश कुश्मी, गंगा जमुना बचत तथा ऋण सहकारीका उपाध्यक्ष चन्द्रदेव भट्राई, व्यवस्थापक कुशराज भट्राई, हरियाली बचत तथा ऋण सहकारीका व्यवस्थापक धनबहादुर बुढामगर, नेफ्स्कुन फिल्ड कार्यालय कञ्चनपुरका सदस्य तथा जनकल्याण बचत तथा ऋण सहकारीका सल्लाहकार बद्रि प्रसाद भट्राई लगायतले टीकापुर क्षेत्रमा बचत तथा ऋण सहकारी संस्था संचालन का अवसर तथा चूनौतीका विषय मा आ–आफ्ना धारणा राख्नु भएको थियो ।
नेफ्स्कुनले सदस्यसँग नेफ्स्कुन कार्यक्रम संचालन गरेसँगै कोषाध्यक्ष पनेरुको टोली सुदूरपश्चिमका बचत तथा ऋण सहकारीहरुसँगको भेटघाट तथा अन्तरक्रियामा रहेको छ । टोलीमा नेफ्स्कुन कञ्चनपुर फिल्ड कार्यालय प्रमुख यम डाँगी तथा धनगढी सेवा केन्द्र प्रमुख योगेश बोहरा लगायत कर्मचारीहरु सहभागि रहनु भएको छ ।