टीकापुर, ६ साउन/टीकापुर जेसिजको सप्ताहव्यापी कार्यक्रम शनिबार सम्पन्न भएको छ । टीकापुरस्थित १४ जिआर फुटबल एकाडेमीका खेलाडीहरु लाई फुटबल लगायतका खेलकुद सामग्री वितरण गर्दै सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको हो ।
एकाडेमीमा विभिन्न उमेर समूहका १ शय ५० बढी बाल बालिकाले फुटबल प्रशिक्षण लिँदै आएका छन् । उनीहरुलाई सुदूरपश्चिम स्पोर्टस् एकाडेमीका पूर्व कप्तान एवं एन्फाका फुटबल प्रशिक्षक गजेन्द्र शाहीले प्रशिक्षण दिँदै आउनु भएको छ ।
प्रतिव्यक्ति मासिक ५ शय रुपैयाँमा फुटबल प्रशिक्षण दिँदै आएको एकाडेमीलाई सहयोग पुर्याउन जेसिजले सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन खेलकुद सामग्री वितरण गर्दै सम्पन्न गरेको हो ।
कार्यक्रममा टीकापुर जेसिजका संस्थापक अध्यक्ष एवं सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य प्राध्यापक डाक्टर जगतबहादुर सिंह रावलले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट सकारात्मक पहल हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
‘टीकापुरलाई खेलकुदको क्षेत्र बाट चिनाउनका लागि हामीले नीतिगत निर्णय गरेर बजेट व्यवस्थापन गर्न पहल गर्नेछौं’ डाक्टर रावलले भन्नुभयो ‘त्यसका लागि स्थानीय वडा, पालिकाबाट सिफारिस भएर योजना आउनु पर्छ, हाम्रो पालिकाबाट त्यस्तो योजना आउन सकेको छैन ।’
कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै सदस्य डाक्टर रावलले तीन वटा योजना सिफारिस गर्नुपर्नेमा टीकापुर नगरपालिकाले प्रदेश सरकारका योजनाका लागि एउटा मात्रै सिफारिस गरेको दाबी गर्नुभयो । ‘प्रदेश सरकारको बजेट निर्माणका क्रममा समपूरक र समानीकरण योजनामा तीन तीन योजना सिफारिस गर्नुपर्नेमा एक एक वटा मात्रै नगरपालिकाले सिफारिस गरेको छ ।’
डाक्टर रावलले नीतिगत निर्णय गर्ने अधिकार नीति तथा योजना आयोगलाई भए पनि प्रत्यक्ष बजेट व्यवस्थापन गर्न सक्ने अवस्था नरहेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि एवं नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले टीकापुर क्षेत्रलाई खेलकुदको माध्यमबाट चिनाउन गजेन्द्र शाहीहरु लागि परेको बताउनु भयो ।
‘लामो समयदेखि फुटबलका माध्यमबाट टीकापुर चिनाई रहे को गजेन्द्र शाहीले अब प्रशिक्षण का माध्यमबाट टीकापुर चिनाउने अभियान थालेका छन्’ अध्यक्ष रावलले भन्नुभयोे ‘खेलकुदका माध्यम बाट टीकापुरलाई चिनाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्न जरुरी रहेको छ ।’
टीकापुर जेसिज वर्ष २०२४ का अध्यक्ष रुपकबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर जेसिजका पूर्व अध्यक्षद्वय राजकुमार हमाल, टेकराज रेग्मी, जेसिजका मानार्थ सदस्य पृथ्वी राज ढुंगाना, फुटबल प्रशिक्षक गजेन्द्र शाही ‘गज्जु’, अध्यक्ष सल्लाहकार कमल सुवेदी लगायत ले बोल्नु भएको थियो ।
जेसिजका उपाध्यक्ष टेकेन्द्र सिंह विष्ट मानसले स्वागत गर्नुभएको कार्यक्रमको संचालन महासचिव भरत भण्डारीले गर्नुभएको थियो ।