टीकापुर,८ चैत/टीकापुर नगरपालिकाको आर्थिक वर्ष २०७८/०८९ को सामाजिक परीक्षण प्रारम्भिक अध्ययन प्रतिवेदनमाथि छलफल तथा सुझाव संकलन गरिएको छ । प्रतिवेदन संकल्प रिसर्च एण्ड डेभलपमेन्ट कन्सल्टेन्सी प्रालिले प्रस्तुत गरेको थियो । प्रतिवेदन प्रस्तुत गर्दै प्रस्तुतकर्ता मीन बहादुर शाहीले अनुगमन समिति को एउटा भौचर हेर्दा बैठकले निश्चित खाका प्रस्तुत नगरेको, अनुगमन समिति बाहिरका मानिसलाई पनि भत्ता खुवाएको भेटिएको बताउनु भयो ।
त्यस्तै खरिद पक्रियामा नगर विकास योजना प्रकाशन तथा प्रसारण अन्र्तगत चुरे मिडिया प्रालिले एउटा डकुमेन्ट बनाएर ४ लाख ९५ हजार लिएको तर संस्थाको दर्ता, कर चुक्ता, विज्ञको डकुमेन्ट जस्ता कुराहरु नपाइएका बताउनुभयो ।
कार्यक्रममा प्रस्तुतकर्ता नाथुराम चौधरीले शिक्षा क्षेत्रका विषय प्रस्तुत गर्दै टीकापुरमा सामुदायिक ३३, संस्थागत ४४ र परम्परागत ३ गरी ७९ विद्यालय रहेका बताउनुभयो । उहाँले शिक्षक विद्यार्थीको अनुपात हेर्दा तालमेल नमिलेको बताउनुभयो । उहाँले शैक्षिक जवाफदेहिता र माथिल्ला कक्षामा सिकाइ उपलब्धि घट्दै गएको बताउनुभयो ।
पं्रस्तुतकर्ता केदार भट्टराईले नगरपालिकाको आर्थिक वर्ष २०७८÷ ०७९ मा १ अर्ब ११ करोड २७ लाख रकम आय रहेको बताउँदै समग्रमा ७५ प्रतिशत बजेट खर्च भएको बताउनुभयो । ।
टीकापुर नगरपालिकाको आयोजना मा भएको कार्यक्रममा स्वागत कार्यपालिका सदस्य रामबहादुर नगार्जीले गर्नुभएको थियो भने सञ्चालन प्रशासकीय अधिकृत रञ्जु आचार्यले गर्नुभएको थियो ।
सामाजिक परीक्षण प्रतिवेदन माथि नागरिकहरुले सुझाव दिएका छन् । छलफल कार्यक्रममा नागरिक समाजका संयोजक भिमराम चपाइले वडाहरुले समेत सार्वजनिक सुनुवाइ गर्नुपर्ने, महालेखा प्रतिवेदनको औल्याए को बेरुजु त्यसमा असुल गर्नु पर्ने रकम, ब्यक्तिको विवरण प्रष्टरुपमा आउनुपर्ने सुझाव दिनुभयो ।
स्थानीय सरकार सवलीकरण कार्यक्रमका यज्ञमान सेठ्ठीले नगरपालिकाको कार्य सम्पादन मूल्यांकन लिजामा नगरपालिका दुइ शिर्षकमा नं। घटेको कारण प्रतिवेदनमा आइदिएको भए हुन्थ्यो भन्नु भयो ।
पत्रकार एकिन्द्र तिमिल्सिना ले पेश्की र पूरानो बेरुजुको कुरा प्रतिवेदनमा नआउँदा दुःख लागेको बताउनुभयो । उहाँले यस्ता कुरा देखिएन भनेर सामाजिक परीक्षण, सार्वजनिक सुनुवाइ हुने भएकाले आर्थिक कुरा लुकाउनु गलत भएको बताउनु भयो ।
पर्यटन व्यवसायी तेज बोहराले नगरपालिकाले पर्यापर्यटन विकास का क्षेत्रमा खासै काम नगरेको, नीति कार्यान्वयन समेत नगरेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय लक्ष्मण बहादुर कठायतले सामाजिक परीक्षण सुशासनसँग जोडिएको विषय भएकाले यसले टीकापुर नगरपालिकाको कार्यसम्पादन आउँदा दिनमा कसरी सुधार गर्न सकिन्छ भनेर झक्झक्याउने बताउनु भयो । पालिकाले बनाउने नीति, योजना कार्यक्रम जनअपेक्षा अनुसार छन छैनन भनी सामाजिक परीक्षणले अडिट गरेर सुझाव दिने भएकाले महत्वपूर्ण काम भएको बताउनुभयो ।
कार्यक्रम समापन गर्दै नगर प्रमुख रामलाल डगौरा थारुले विभिन्न विषयहरु प्रतिवेदनले उठाएका बताउनुभयो । उहाँले नगरपालिका पारदर्शी नभएमा अगाडी बढ्न नसक्ने बताउँदै अन्तिम प्रतिवेदनमा अझ विस्तृत रिपोर्ट ल्याइदिन आग्रह गर्नुभयो ।
उहाँले सूचना नलुकाउन कर्मचारी लाई आग्रह गर्दै जनप्रतिनिधि, कर्मचारी सबैका आर्थिक, नीतिगत कुराहरु ल्याइदिन आग्रह गर्नुभयो ।