टीकापुर नगरपालिकामा ५ सय ५५ र जानकीमा २ सय ३५ परिवार प्रभावित ,भजनीको जनजीवन अस्तव्यस्त

टीकापुर, ३ असोज/टीकापुर नगरपालिकामा बाढीले ५ सय ५५ परिवार प्रभावित भएका छन् । भदौँ ३० गतेदेखि परेको अविरल वर्षाका कारण असोज १ गते आएको बाढीले विभिन्न वडाका ५ सय ५५ परिवार प्रभावित भएको तथ्यांक नगरपालिकाले संकलन गरेको छ ।
राहत वितरण लागि नगरपालिकाले मापदण्ड बनाएको छ । प्रभावित परिवारलाई तत्काल खाद्यान्न वितरण गर्ने भएको छ । नगरपालिकाले खाद्यान्न वितरणका लागि मापदण्ड बनाएको छ । नगर उपप्रमुख खडकबहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिपरिवार चामल २५ केजी, दाल २ केजी, तेल २ लिटर, नुन १ केजी, मिक्स मसला २ सय ग्राम, बेसार २ सय ग्राम र खुर्सानी २ सय ग्राम वितरण गरिने भएको छ ।


बाढीका कारण टीकापुरमा वटा ३ विद्यालय सामान्य क्षति भएका छन् भने सयौँ विघा धान खेती र केरा खेतीमा क्षति पुगेको बताइएको छ । विद्यालय र विद्यार्थीका लागि शौंक्षिक सामग्री, कृषकहरुका लागि बीउबीजन रासायनिक मल लगायत सामग्री सहयोग गर्नका लागि नगरपालिकाले गैर सरकारी संघ संस्था, नेपाल रेडक्रस सोसाइटी लगायत विभिन्न सरोकारवाला निकायलाई सहयोग का लागि अनुरोध गर्ने निर्णय गरेको छ । यसका साथै विस्तृत घरधुरी सर्वेक्षणबाट प्राप्त तथ्यांकका आधारमा पूर्ण र आंशिक क्षती भएका घरधुरीका लागि खाद्यान्न वितरण गर्ने भएको छ ।
क्षतिको पूर्ण विवरण आइ नसकेकाले बाढी तथा डुवानबाट प्रभावित घरधुरीको विस्तृत घरधुरी सर्वेक्षण गर्ने भएको छ । सर्वेक्षणका लागि नगरपालिकाका सवै विषयगत शाखाको समन्वयमा स्थानीय आपतकालिन कार्य संचालन केन्द्रमा सचिवालय वनाई प्रभावित वडाका वडा स्तरीय विपद् व्यवस्थापन समितिको प्रत्यक्ष संलग्नतामा वडा प्रतिनिधि, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधिको प्राविधिक सहयोग र विभिन्न गैरसरकारी निकायको सहयोगमा यही असोज ३ गतेदेखि बाढी प्रभावित घरधुरीहरुको विस्तृत घरधुरी सर्बेक्षण गर्ने निर्णय भएको छ ।
बाढी तथा डुवानबाट प्रभावित लाई प्रतिकार्य तथा राहत व्यवस्थापन गर्नका लागि एकद्धार प्रणाली लागू गर्ने, बाढी प्रतिकार्य तथा राहत वितरण कार्य गर्दा टीकापुर नगरपालिका स्थानिय आपतकालिन कार्य सञ्चालन केन्द्रको समन्वयमा मात्र प्रतिकार्य तथा राहत वितरण गर्ने निर्णय गरिएको छ ।
टीकापुरमा सबैभन्दा बढी क्षति वडा नं। ६, ७ र ८ मा भएको छ । बाढीले विस्थापित भएका परिवार विभिन्न उच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन् ।
जानकी गाउँपालिकामा २ सय ३५ परिवार बाढीले प्रभावित भएका छन् । जानकीमा प्रभावित परिवार विभिन्न सेल्टरमा बसिरहेका, उनीहरुलाई सोही स्थानमा खानाका लागि मेस सञ्चालन गरिएको छ । पालिकाले क्षतिको विवरण संकलन गरिरहेको र पहिलो प्राथमिकता नागरिकलाई खानपान को व्यवस्था मिलाउन थालिएको अध्यक्ष गणेश चौधरीले जानकारी दिनुभयो । उता भजनीको जनजीवन आइतवारसम्ममा पनि अस्तव्यस्त रहेको छ । त्यहा आइतवार पनि जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी , स्थानीय समाजसेबी र जनप्रतिनीधि सबै उद्धारमा खटिएका छन् । त्यहाका सडक जलमग्न हुदा हिडडुल गर्न कठिन भएको छ । कतिपय वडामा डुगांको सहायताले हिड्नुपर्ने अवस्था छ । नगरपालिकामा बाढीका कारण ज्यान गुमाउनुभएका ५५ बर्षे कालूराम चौधरीको लास भेटिएको छ । भजनीमा करिब ५ हजार घरपरिवार प्रभावित भएको नगरप्रमुख केवल चौधरीले बताउनुभयो । यतिखेर हजारौं परिवार हुलाकी सडकमा बसेको नगरप्रमुख चौधरीले जानकारी गराउनुभयो । ‘‘उद्धारको काम शनिबार सकेका हौ। केही छुटपुटलाई आइतवार दिनभरी लागेर उद्धार ग¥यौ,’’ नगर प्रमुख चौधरीले भन्नुभयो,‘‘ हाम्रो ध्यान उद्धार तथा भोक र प्यास मेट्ने बारेमा छ ।’’ पहिलो चरणमा बाढी पीडितलाई पानी, चिउरा र चाउचाउ वितरण गरिरहेका छौ ।’’ उहाँले ठूलो संख्यामा घरपरिवार प्रभावित भएका कारण संघिय र प्रदेश सरकारको पनि ध्यान जानुपर्ने बताउँदै बाढी पीडितको तथ्याकं संकलन वडा तहबाट हुन थालेको बताउनुभयो ।