टीकापुर नगरपालिकाले ८५ लाखका भवनको योजनासंगै ठेकेदार पठायो,भवन निर्माणमा जनप्रतिनीधि र ठेकदारबीच सेटिङ

टीकापुर, ६ फागुन/टीकापुर नगरपालिकाका वर्तमान जन प्रतिनीधिले तीन वर्षमा मुख्य काम के गर्यौ भनेर प्रश्न गर्ने हो भने जवाफ छैन । कहिले हवाई मैदान त कहिले गुलवाको बगैचा भन्दै नागरिकको ध्यान अन्यत्र मोड्ने काम गरिरहेका छन् । कमिसनमा लिप्त हुँदा आवश्यक ठाउँमा जनप्रतिनीधिले बजेट दिन चासो गर्दैनन् । एक हप्ता अघि नगरपालिकाले भवन निर्माण गर्न चार वटा विद्यालयमा बजेट  पठायो । टीकापुर ३ स्थित हिमालय मावि घिया, टीकापुर ४ स्थित जनप्रकाश मावि बाघमारा, टीकापुर ६ बेलुवास्थित राष्ट्रिय मावि र जनता राष्टि«य मावि सोनाफाँटामा बजेट पठाएको हो ।
चार कोठे भवन र चर्पी निर्माण का लागि प्रति विद्यालय ८५ लाखका दरले बजेट पठाएको ती विद्यालयलले जनाएका छन् । ५५ लाख रुपैया संघिय बजेट र ३० लाख नगरपालिकाको सहभागिता गरी  ८५ लाखका दरले बजेट पठाइएको छ भने १५ प्रतिशत श्रमदान गर्नुपर्ने प्रावधान छ ।  यसरी बजेटसँगै नगरपालिकाले भवन निर्माण गर्ने ठेकेदार पनि पठाएको छ ।


यसरी बजेट पठाए पनि नगरपालिकाले ठेक्का नदिएर उपभोक्ता मार्फत गर्ने योजना बनायो ।  देखावटी उपभोक्ता समिति गठन गरेर यी चारवटै विद्यालय निर्माण को जिम्मा फर्निचर व्यबसायी बिनोद शर्मालाई दिइएको छ । बजेटसँगै ठेकेदार गएको जनता राष्ट्रिय माध्यमिक विद्यालयका प्रअ किरण धितालले स्विकार्नुभयो । ‘‘८५ लाखको बजेट आएको छ, मेटरीयल सहित निर्माणको जिम्मा बिनोद शर्मा भन्ने व्यक्तिलाई दिएका छौँ’’, धितालले भन्नुभयो , ‘‘ठेकेदार कसरी आए भन्ने बारेमा विद्यालयका अध्यक्षलाई सोध्नुहोस्, उहाँ वडाध्यक्ष पनि हुनुहुन्छ ।’’
उता राष्ट्रिय मावि बेलुवामा काम शुरु भएको विद्यालयका प्रअ रामप्रशाद चौधरीले बताउनुभयो । ‘‘काम शुरु भएको छ, विद्यालय व्यबस्थापन समिति आफै पनि उपभोक्ता समिति हो, बिनोद शर्मालाई जिम्मा दिएका छौँ’’, चौधरीले भन्नुभयो ,‘‘बजेट आएको छ सबै काम ठेकेदारले गर्नुहुन्छ ।’’
हिमालय मावि घिका प्रअ बुद्धिराम चौधरीले बजेट आएको छ भन्दै निर्माणका बारेमा केही नभएको बताउनुभयो । उहाँले कार्यादेश सोधेर काम गर्नुपर्ला भन्नु    भयो । यसरी नगरपालिकाले भवन निर्माणका लागि बजेटसँगसँगै ठेकेदार पठाएपछि यस क्षेत्रका विद्यालय व्यबस्थापन पदाधिकारी र प्रअले खासखास खुसखुस गर्न थालेका छन् । कतिपयले त बजेट नआएकै राम्रो भयो भन्न थालेका  छन् । बजेट र ठेकेदार सँंगसँगै आएको बिषयमा ती विद्यालयका व्यबस्थापन समिति पदाधिकारी र प्रअ मुख खोल्न चाहदैनन् भन्दै टीकापुर वडा नम्बर  ६ का नेपाली कांग्रेसका सभापति नृपबहादुर कडायतले खुलेआम भ्रष्टाचार हुँदा कोही नबोल्ने गरेको बताउनुभयो । ‘‘यत्रो बजेटमा प्रतिस्पर्धा गराएको भए विद्यालय लाई केही पैसा बचत हुने थियो, विद्यालयले थप काम गर्न सक्थ्यो’’,कडायतले भन्नुभयो, ‘‘नागरिकले तिरेको करमा केही व्यक्तिले मोज गर्ने प्रबृत्ति अन्त गर्न जरुरी छ ।’’ विद्यालयमा भइरहेको भवन निर्माणबारे टीकापुर नगरपालिका का इञ्जिनियर राजेन्द्र बहादुर  रावलले कार्यबिधि र खरिद नियमावली अनुसार भवन निर्माण भइरहेको दाबी गर्नुभयो । ‘‘ठेक्का दिदा एक करोड २० लाख छुट्याउनुपर्ने भयो, बजेट ८५ लाख छ दोधारमा भयौँ’’, रावलले भन्नुभयो, ‘‘ठेक्का प्रक्रियामा जाँदा २ महिना लाग्ने भएकाले पनि उपभोक्ता मार्फत काम गराउनु प¥यो ।’’
भवन निर्माणमा उपभोक्ताले १५ प्रतिशत श्रमदान गर्नुपर्ने रावलले बताउनुभयो । यसरी १५ प्रतिशत उपभोक्ता समितिले श्रमदान गर्ने भनिए पनि टीकापुरबाटै पठाइएका ठेकेदारले १५ प्रतिशत श्रमदान कसरी देखाउँछन् भन्ने प्रश्न खडा भएको छ । सामान्यतया भवन निर्माणमा २० देखि २५ प्रतिशत कममा ठेक्का लिएर निर्माण व्यबसायीले काम गर्ने गरेका छन् ।
विद्यालयले बिना प्रतिस्प्रधा भवन निर्माणको जिम्मा नगरपालिका बाट पठाइएका ठेकेदारलाई दिए पछि विद्यालय र नगरपालिकाका जनप्रतिनीधिको मिलोमतो रहेको आशका गर्ने ठाउँ छ । बजेटसँगै पठाइएका ठेकेदार शर्माले नगरपालिकाको सबै काम मिलोमतोमा लिदै आएका छन् । यसरी मिलोमतो मा काम लिन पल्केका शर्माले एक वर्ष अघिमात्र टीकापुर १ स्थित सरस्वती मावि बनगाउँमा पर्खाल निर्माण को जिम्मा लिएका थिए । त्यो पर्खाल निर्माणमा कमशल खालको काम गरेर विद्यालयलाई हैरान गराएका थिए । यसरी हैरान गराएको कुरा टीकापुर नगरपालिकाका प्राबिधिक कर्मचारीलाई पनि थाहा छ । पर्खाल मर्मत  राम्रोसँग नगर्नेले ८५ लाखका भवन कसरी बनाउँछन् आफै बुझ्न सकिन्छ । पछिल्लो समय नगरपालिकामा जनप्रतिनीधिले मनपरी गर्न थालेका छन् । प्रमुख प्रशासकीय अधिकृत जनप्रतिनीधिको व्यबहारले हारथाक भएको बुझिएको छ ।