टीकापुर, ३० भाद्र/टीकापुरमा भदौं २४ गते भएको आगजनीमा परी क्षती पुगेका संरचनाहरुको सरसफाई शुरु गरिएको छ । क्षति पुगेका टीकापुर नगरपालिका तथा पार्टी कार्यालयहरुमा सरसफाई शुरु गरिएको छ ।
टीकापुर नगरपालिकामा भएको क्षतिको बिबरण संकलन गरी सरसफाई शुरु गरिएको छ । हिजोबाट शुरु गरिएको सरसफाईमा १/२ दिन लाग्ने नगरपालिकाले जनाएको छ । पालिकाका सामानमा समेत क्षति भएकाले सरसफाईपछि अत्यावश्यक सामानको जोहो गरी केही दिनमा सेवा सुचारु गर्ने प्रयास भैरहेको प्रशासकीय अधिकृत देवीप्रसाद आचार्यले जानकारी दिनुभयो ।
यसैगरी आगलागीबाट राजनीतिक दलका पार्टी कार्यालयमा भएको क्षतिको विवरण संकलन गरी सरसफाईमा जुट्ने योजना भैरहेको सम्बन्धित पार्टीहरुले बताएका छन् ।
टीकापुरस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा भएको क्षतिको बिबरण संकलन गरि मुचुल्का उठाउने काम सकिएको र आज देखि पार्टी कार्यालय सरसफाईमा जुट्ने योजना बनाएको नेपाली कांग्रेसका नगर सचिव प्रकाश शाहले जानकारी दिनुभयो ।

नेकपा एमाले टीकापुरले पनि पार्टी कार्यालयमा भएको क्षतिको बिबरण संकलन गरेर मुचुल्का उठाउने काम सकिएकाले आज बिहान पार्टी कार्यालय सरसफाई गरेर कार्यालय मा पार्टी र राष्ट्रिय झण्डा लगाने काम गरिने एमाले नगर सचिव भानुभक्त जैशीले जानकारी दिनुभयो ।
नेकपा माओवादी केन्द्रको आफ्नै भवन नभएकाले पार्टी कार्यालय भित्रका सामानहरु बाहिर ल्याएर जलाएकाले अब के गर्ने भन्ने विषयमा आफूहरु अन्यौलमा रहेको अध्यक्ष धनसिंह साउँदले बताउनु भयो ।
नागरिक उन्मुक्ती पार्टीका नगर अध्यक्ष जितबहादुर चौधरीले टीकापुरमा नागरिक उन्मुक्ती पार्टीको कार्यालय भनि जलाइएको संरचना रेशम चौधरीको व्यक्तिगत संरचना भएकाले त्यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । राप्रपाले पनि क्षतिको विवरण संकलन गरेको र सरसफाईमा जुटेको जनाएको छ । आगलागी तथा तोडफोडबाट टीकापुरमा पनि ठूलो क्षति भएको छ ।