टीकापुर नगरपालिका स्तरीय मेयर अन्तर विद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

टीकापुर, ५ मंसिर/र्टीकापुरमा बिहिबार देखि मेयर अन्तर विद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । बिहिबारबाट शुरु भएको प्रतियोगिता १० गते समापन हुनेछ । प्रतियोगिताका पहिलो चरणका खेलहरु ७ गतेसम्म सञ्चालन हुने छन् भने फाइनल चरणका खेलहरु ८ देखि १० सम्म सञ्चालन हुनेछन् । पहिलो चरणका खेलहरु नगरपालिकाका ३ ओटा स्थानमा सञ्चालन भएका छन् ।
खेलहरु टीकापुर बहुमुखी क्याम्पसको खेल मैदान, विरेन्द्र विद्यामन्दिर माविको खेल मैदान र सत्तिको खेल मैदानमा शुरु भएका छन् ।
टीकापुर बुहुमुखी क्याम्पसको खेल मैदान र विरेन्द्र विद्यामन्दिरको खेल मैदानमा शुरु भएको प्रतियोगितको नगर प्रमुख रामलाल डंगौरा थारुले उद्घाटन गर्नुभयो भने सत्तिको खेल मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन संविधान सभा सदस्य हरीलाल ज्ञवालीले गर्नुभयो ।
प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख रामलाल डंगौरा थारुले खेलकुदबाट पनि आफ्नो परिचय दिन सक्नुपर्छ भन्ने उद्देश्यले यो प्रतियोगिताको शुरुवात गरिएको बताउनुभयो ।
नगर प्रमुख थारुले यो नगरपालिकाको लागि खेल क्षेत्रको एउटा पर्व भएकाले त्यसलाई अनुशासित र मर्यादित तरिकाले सञ्चालन गर्न सरोकारवालाहरु लाई आग्रह समेत गर्नुभयो ।
सत्तिमा शुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै संविधानसभा सदस्य हरीलाल ज्ञवालीले खेलकुद पनि परिक्षा भएको बताउँदै खेलकुदमा विद्यार्थीको लगनशिलता, मेहनत र अनुशासनको परिक्षा हुने र अहिले नेपालको खेलकुद क्षेत्र सुधार हुँदै गएकोले खेलकुदमा भविश्य राम्रो भएको बताउनुभयो ।
यस पटक पहिलो चरणका खेलहरु कर्णाली मावि सत्ति,सरस्वती मावि वनगाउँ र सप्तऋषी मावि टीकापुरले सञ्चालन गर्ने जिम्मा पाएका छन् भने दोस्रो चरणका फाइनल खेलहरु कर्णाली मावि सत्तिको खेल मैदानमा हुने टीकापुर नगरपालिका शिक्षा अधिकृत नरेश अवस्थिले जानकारी दिनुभयो ।
टीकापुर बहुमुखी क्याम्पसका प्रमुख ढविन्द्र रावल टीकापुरमा खेलकुद मैदान भएर पनि व्यवस्थित नभएकाले त्यसमा ध्यान दिनु पर्ने बताउनुभयो ।
सामुदायिक रेडियो टीकापुरका अध्यक्ष डाक्टर योगेन्द्र प्रसाद बजगाई विद्यालयमा नगरपालिकाले पुगाउने सेवा सुविधाका विषयमा ध्यान दिन सुझाव दिनुभयो ।
सप्तऋषी मावि टीकापुरको आयोजनामा टीकापुर बहुमुखी क्याम्पसको खेल मैदानमा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा टीकापुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष लालविर चौधरी, टीकापुर नगरपालिका शिक्षा समिति सदस्य रघुनाथ उपाध्याय, युवराज शर्मा, एन प्याब्सनका केन्द्रिय उपाध्यक्ष तेजराज खनाल, प्याब्सनका प्रदेश उपाध्यक्ष डम्बर सोडारी, कर्णाली मावि टीकापुरका प्रधानाध्यापक धर्मराज शर्मा, प्याब्सनका सल्लाहकार चक्र तिमिल्सिनाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सप्तऋषी मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेश कुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक लिखराम चौधरीले गर्नु भएको थियो भने सञ्चालन शिक्षक शिवराम चौलागाईले गर्नु भएको थियो ।
विरेन्द्र विद्यामन्दिरको खेल मैदानमा भएको प्रगियोगिता उद्घाटन खेलमा हिमालय मावि घियाका प्रधानाध्यापक बुद्धिराम चौधरी, जनज्योती आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमला शाही लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सरस्वती मावि वनगाउँका विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमर पुनमगरको अध्यक्षता मा भएको कार्यक्रममा स्वागत प्रधानध्यापक खगेन्द्र घर्तिमगर ले गर्नु भएको थियो भने सञ्चालन धर्मराज शर्माले गर्नु भएको थियो ।
सत्तिमा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा नं। ६ का अध्यक्ष बलिराम चौधरी, राष्ट्रिय माबि बेलुवाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवबहादुर बुढाथोकी, त्रिभुवन माबि बटनपुरका प्रधानाध्यापक रविन्द्र कठायत, कर्णाली माबि सत्तिका पूर्व प्रधानाध्यापक जगविर शाह, सुरेन्द्र देउकर, सामुदायिक सेवा केन्द्रका तोपबहादुर केसीले मतब्य राख्नु भएको थियो ।
कर्णाली माबि विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा टीकापुर नगरपालिका वडा नं.७ का अध्यक्ष यज्ञप्रसाद न्यौपाने को अध्यक्षतामा कार्यक्रममा प्रधानाध्यापक खुमानन्द ओलिले स्वागत गर्नुभएको थियो भने संचालन शिक्षक ओपेन्द्र खड्काले गनुभएको थियो ।
मंसिर ४ गतेदेखि १० गतेसम्म सचलन हुने प्रतियोगितामा  नगरपालिका भित्रका विद्यालयको सहभागिता रहेको छ । वडा नम्बर १ देखि ५ सम्मका सामुदायिक विद्यालयका खेलहरु सञ्चालन गर्ने जिम्मा सरस्वती मावि वनगाउँले पाएको छ भने संस्थागत विद्यालयका खेलहरु सञ्चालन गर्ने जिम्मा सप्तऋषी मावि टीकापुरले पाएको छ ।
वडा नम्बर ६ देखि ९ सम्मका सामुदायिक र संस्थागत विद्यालय का खेलहरु सञ्चालन गर्ने जिम्मा कर्णाली मावि सत्तिले पाएको छ ।