टीकापुर महोत्सव पुस २५ गतेदेखि सञ्चालन गरिने

टीकापुर, ५ पौष/टीकापुर महोत्सवको तयारी शुरु भएको छ । उद्योग वाणिज्य सङ्घ टीकापुरको आयोजनामा हुने महोत्सवको तयारीबारे वाणिज्य संघले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
वाणिज्य संघका अनुसार महोत्सवको उद्घाटनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री ब्रदी पाण्डे प्रमुख अतिथि आउने तय भएको छ ।
कार्यक्रममा महासचिव नवराज रिमालले महोत्सव यहि पुस २५ गतेदेखि माघ ६ गतेसम्म सञ्चालन गरिने गरी तयारी शुरु भएको जानकारी दिनुभयो ।
महोत्सव सञ्चालनका लागि उपाध्यक्ष सन्तोष खड्काको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको जानकारी दिइएको छ । कार्यक्रममा वाणिज्य संघका अध्यक्ष चक्रपाणि सापकोटाले महोत्सव सफल बनाउन सबैलाई सहयोग गर्न अनुरोध गर्नुभयो ।


कार्यक्रममा संयोजक खड्काले सुदूरपश्चिम औद्योगिक ब्यापार मेला तथा टीकापुर महोत्सवमा २०० स्टल रहने जानकारी दिनुभयो । जसमा १२७ स्टल पण्डाल भित्र रहने, बाहिर होटल २६ वटा, थारु गाउँमा २४ होटल, अटोमोबाइल्स १४, मोटरसाइकल र कृषि उद्यमी गरी ९ वटा स्टल रहनेछन् ।
वाणिज्य संघले टाइटल प्रायोजक र आधिकारिक होटल तय गरिसकेको छ । बाल उद्यान र पण्डाल घेरबारका लागि सम्झौता भइसकेको जानकारी दिनुभयो ।
यसपटक पनि महोत्सव को मुख्य आकर्षणका रुपमा कृषि प्रदर्शनी, थारु गाउँ रहनेछन् । थारु गाउँमा यसपटक कला केन्द्र का रुपमा प्रतिस्पर्धा गराइने जानकारी दिइएको छ ।
वाणिज्य संघले महोत्सवका माध्यमबाट प्रमुख अतिथिलाई मुख्य माग हवाई मैदान व्यवस्थित गराउन माग गर्नेछ । टीकापुरमा वि।सं। २०६५ सालदेखि टीकापुरमा महोत्सव आयोजना हुँदै आएको छ । पछिल्ला दुई वर्षमा महोत्सवको आम्दानीबाट बजार क्षेत्रमा ४ थान सिसी क्यामरा जडान गरेको जानकारी दिइएको छ ।