टीकापुर र लम्कीचुहा नगरपालिकामा लगाइएको ताला तोडीए

टीकापुर, २४ मंसिर/टीकापुर नगरपालिकाको कार्यालयमा लगाएको तालो प्रहरीले तोडेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीको निर्देशनपछि नगरपालिका कार्यालयका लगाएको ताला दिउँसो साढे ३ बजे प्रहरीले तोडेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।
निजी जग्गामा नगरपालिकाले डोजर लगाएको भन्दै घरधनीहरूले तालाबन्दी गरेका थिए । टीकापुर नगरपालिकाले १९ गते वडा नम्बर ४ मौरनियामा अतिक्रमण गरी निर्माण गरिएको संरचना हटाउन डोजर लगाएको थियो । त्यो बेला नरेन्द्र बोहरा र पदम कठायतको संरचना हटाइएको थियो ।

यस्तै लम्कीचुहा नगरपालिका मा लगाइएको ताला पनि तोडिए को छ । सरकारी सम्पत्ति दुरुपयोग गरेको लगायतका आरोप लगाउँदै नेपाल कम्युनिष्ट पार्टीले लगाएको ताला तोडिएको हो ।

प्रहरीको सहयोगमा नगरपालिकाले नै ताला तोडेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । पुराना मोटरसाइकलहरू हुँदा हुँदै नयाँ मोटरसाइकल किनेर भ्रष्ट्राचार गरेको आरोप लगाउँदै नेपाल कम्युनिस्ट पार्टीले नगरपालिका को आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको थियो ।