टीकापुर साहित्य महोत्सव सम्पन्न,नव युवा प्रतिभाहरुले आ–आफ्ना कविता वाचन गरे

टीकापुर, २७ फागुन/तीन दिनसम्म टीकापुरमा सञ्चालित टीकापुर साहित्य महोत्सव सम्पन्न भएको छ । महोत्सवको अन्तिम दिन मलवारका नव युवा प्रतिभाहरुले आ–आफ्ना कविता वाचन गरेका थिए । अन्तिम दिनको अन्तिम सेसनमा “संघीय सरकारको नीतिमा सुदूरपश्चिम विषयमा राष्ट्रिय सभा सदस्य गरिमा शाह र संघीय सांसद रूपा चौधरीबीच छलफल भएको छ । छलफलको सहजीकरण पत्रकार अर्जुन शाहले गर्नुभएको थियो ।


त्यस्तै “टीकापुरको विकासः अवसर र चुनौती“ शीर्षकमा टीकापुर नगरपालिकाका पूर्व मेयर तपेन्द्र रावल, जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी, वीरेन्द्र विद्यामन्दिर शैक्षिक गुठीका अध्यक्ष नवराज रावल तथा वैज्ञानिक जितु उपाध्यायबीच छलफल भएको थियो ।


छलफलको सहजीकरण पत्रकार दुर्गा देवकोटाले गर्नुभएको थियो ।
महोत्सवमा “नेपाली साहित्य मा सुदूरपश्चिमका नयाँ पुस्ता“ विषयमा साहित्यकार कल्पना जोशी, हेमन्त शिशिर, देवव्रत, खेम बतास तथा बिपी अस्तुसंग अस्विनी कोइरालले बहस गर्नुभएको थियो ।
त्यस्तै “थारू संस्कृतिका आयाम“ बारे सामाजिक अभियन्ता, संस्कृतिविद् तथा कविद्वय छविलाल कोपिला र चित्र चौधरीसंग सानु चौधरीले छलफल गर्नुभएको थियो ।
महोत्सवको अन्तिममा सुदूरको देउडा प्रस्तुत गरिएको थियो । देउडा गायक नन्दकृष्ण जोशी, रेखा जोशी, डिक्रा बादी, लक्ष्मी आचार्यले छलफल र रमाइलो गर्नुभएको थियो ।
फागुन २४ देखि २६ गतेसम्म सञ्चालन भएको महोत्सवमा १८ वटा सत्र सञ्चालन भएका थिए । टीकापुर महोत्सवको यो दोस्रो संस्करण हो । महोत्सवको अन्तिममा विभिन्न स्रष्टाहरुले आफ्ना रचना समेत वाचन गरेका थिए । टीकापुर साहित्य समाजले २०७९ सालमा पहिलो पटक साहित्य महोत्सव आयोजना गरेको हो । यस वर्ष महोत्सवमा विभिन्न विधाका ४ जनालाई सम्मान गरिएको थियो । साहित्य मार्फत सामाजिक सद्भाव बढाउने उद्देश्यले संस्था का अध्यक्ष महेश बिक्रम शाहको नेतृत्वमा दोस्रो पटक महोत्सव आयोजना गरिएको हो ।