सम्पादकीय
ठूला पार्टीप्रति आक्रोस बढ्न थालेको छ । राजनीतिमा देखिएको समस्या ठूला पार्टीकै कारण आएको नागरिकले बुझेका छन् । मुलुकको अवस्था आज ठीक होला भोली ठीक होला भनेर कुरेका नागरिक अवस्था दिनप्रतिदिन खराब भएपछि आक्रोशित हुनु स्वभाविकै हो । आर्थिक अवस्था कमजोर हुँदै गएको छ भने देशको ऋण ५ बर्षमा दोब्बर भएको छ । बाह्य राष्ट्रबाट घोषणा गरेको ऋण पनि नपाएको अवस्था छ । आन्तरिक ऋण उठाएर सरकार कतिञ्जेल चल्ने हो ? गत आर्थिक बर्षमा करिब ९ खर्ब मात्र राजश्व संकलन भएको थियो । यस्तो अवस्थामा देशको राजश्वले देशको विकास त कर्मचारी र प्रदेश सरकार चलाउन पुग्दैन । यस्तो अवस्था हुँदासम्म पनि नेताहरु सचेत भएको पाइदैन। यतिखेर सदनमा देखिएको प्रस्तुतिलाई बिश्लेषण गर्ने हो भने ठूला पार्टीलाई साख बचाउन चुनौती छ । राप्रपाका ज्ञानेन्द्र शाही हुन् या अमरेस कुमार सिंहले हुन् संसद ताएका छन् । सुन काण्ड देखि लललिता निवास प्रकरणमा खरो रुपमा उत्रेका छन् । संसदमा बोल्दा जनताको आवाज उठाएको आम नागरिकले महशुस गर्न थालेका छन् । नेपाली कांग्रेस , एमाले र माओवादीका सांसदको प्रस्तुती टिठ लाग्दो छ । पूराना पार्टीले बोल्ने आधार गुमाउँदै गएको अवस्था छ । सबै पार्टीका नेताहरुको व्यबहारले युवाहरु पनि खासै बोल्न सकिरहेका छैनन् । यसरी ठूला पार्टीका युवाहरुले खरो रुपमा बोल्न नसकेको अवस्थामा साना दलका नेताहरुको प्रस्तुती प्रति नागरिक खुसी छन् । पार्टीमा नेतृत्वका लागि द्वन्द गर्नेहरु नागरिकका बिषयमा डटेर छलफल र बहस गरेको पाइदैन । पुराना पार्टीका युवा नेताहरु बुढा नेताहरुलाई खुसी पारेर सत्ताको स्वाद चाख्नमा व्यस्त छन् । तसर्थ नागरिकले खबरदारी गरिराख्न जरुरी छ ।