टीकापुर, २१ बैशाख /नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री डाक्टर रणबहादुर रावलले बिहीबार अनाथ बालबालिकासँग आफ्नो जन्मदिन मनाउनु भएको छ । टीकापुरस्थित स्वयमसेवक संस्थामा रहेका अनाथ बालबालिकासँग केक काटेर जन्मदिन मनाउनुभएको हो । सो अवसर डाक्टर रावलले संस्थालाई आर्थिक सहयोग समेत गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका नेता, तरुण तथा विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो ।
डाक्टर रावलले आफुले जन्मदिन खासै मनाउने नगरेको र यस पटक अनाथ बाललिाकासँग मनाउने अवसर जुटेको बताउनुभयो । ‘‘यो अवसर हो, साना नानीहरुको बीचमा गएर उनीहरुको समस्या केही बुझ्न पाइन्छ भन्ने पनि हो’’,रावलले भन्नुभयो,‘‘अनाथको सेवा गर्ने संस्थाका बारेमा आफु गम्भिर छु ।’’
संस्थाका अध्यक्ष प्रशान्त बिसीले अनाथ बालबालिकाको गाँस, वास, कपासका साथै शिक्षा र स्वास्थ्यको व्यवस्था मिलाउने गरी बच्चा राखेका छौँ भन्नुभयो । उहाँले अनाथ बालबालिकाका बारेमा समाजका हरेक सचेत नागरिक गम्भिर हुनुपर्नेमा जोड दिनुभयो । २०६० सालबाट सञ्चालनमा आएको संस्थामा अहिले २४ जना अनाथ बालबालिकका छन् ।