तरुण दलको स्थापना दिवसमा लागु औषध विरुद्ध अन्र्तक्रिया

टीकापुर, ११ कार्तिक/नेपाल तरुण दलको ७२ औं स्थापना दिवसको अवसरमा तरुण दलले देशभर बिभिन्न कार्यक्रम गरेको छ । यसै क्रममा शनिबार कैलाली क्षेत्र नम्बर १ पनि स्थापना दिवस पारेर कार्यक्रम गरेको छ ।
टीकापुरमा तरुण दलले लागु औषध विरुद्धको बृहत अन्तरक्रिया कार्यक्रम गरेको हो । तरुण दलका क्षेत्रीय सभापति कल्पेश कुँवरको अध्यक्षता मा भएको कार्यक्रममा नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर १ का सभापति प्रकाश शाह प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि शाहले लागु औषध दुव्र्यसन साझा समस्या भएकाले दुव्र्यसन रोकथामलाई राजनीतिक आँखाले हेर्न नहुने बताउनुभयो । यो सामूहिक समस्या हो समाज एक ढिक्का भएर लागु औषध नियन्त्रणमा लाग्नुपर्ने शाहको सुझाव थियो ।
उहाँले दुव्र्यसनको विकल्प खेलकुद हुने भएकाले खेलकुदका माध्यमबाट दुव्र्यसनी रोकथाम गर्न सहज हुने बताउनु भयो । राज्यका तीनै तहले खेलकुदका क्षेत्रमा बजेट बढाउनुपर्नेमा जोड दिएनुपर्ने बताउँदै टीकापुर नगरपालिकाले खेलकुदका क्षेत्रमा छुट्याएको बजेटको दुरुपयोग भैरहेको आरोप लगाउनुभयो । ‘‘नगरपालिकाले खेलकुद कार्यक्रम गर्छ,बजेट सक्नका लागि,’’ शाहले भन्नुभयो,‘‘ नगरपालिकाले खर्च गर्ने बजेट खेलाडीका लागि भन्दा पनि कर्मचारीका लागि हुन्छ ।’’ कर्मचारीका लागि हो ।


सोही कार्यक्रममा विशिष्ट अतिथि रहेका इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी नविन राजा बुढाथोकीले दुव्र्यसन मुक्त टीकापुर बनाउने साझा संकल्पको आवश्यकता रहेको बताउनुभयो । उहाँले प्रहरीको एक्लो प्रयासले लागु औषध नियन्त्रण गर्न सम्भव नरहेको बताउनुभयो । दुव्र्यसनी अपराध भन्दा पनि सामाजिक बिकृति भएको भन्दै बुढाथोकीले समाज एक ढिक्का भएर लागु नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पूर्व दुव्र्यसनी रहेर अहिले दुव्र्यसन विरुद्धको अभियान मा सकृय उपेन्द्र बटालाले टीकापुर लागु औषधका कारण बदनाम भैरहेको बताउनुभयो । लागु औषध नियन्त्रण गर्न युवाहरु एक हुनुपर्ने भन्दै बटालाले हरेक राजनीतिक दल एक भएर काम गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रमको समापन गर्दै सभापति कुँवरले युवालाई लक्षित गरेर कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा तरुण दल टीकापुर नगर समितिका उपसभापति उमेश नाथले स्वागत गर्नुभएको थियो भने सञ्चालन बीरेन्द्र बहुमुखी क्याम्पस का स्वबियू सभापति नबिन अधिकारीले गर्नुभएको थियो ।
पछिल्लो समय तरुण दल क्षेत्र नम्बर १ ले बिभिन्न कार्यक्रम गर्दै आएको छ ।