तरुण दलले गर्यो उत्कृष्ट बिद्यार्थीलाई सम्मान

टीकापुर,३ असोज/नेपाल तरुण दल क्षेत्र नम्बर १ कैलालीले बुधबार जानकी गाउँपालिकाका उत्कृष्ट बिद्यार्थीलाई सम्मान गरेको छ । कुशल देबकोटा र जुना तिमिल्सिनालाई नगद ५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो ।
२०८० सालको एसइई परिक्षामा पालिका भरिबाट उत्कृष्ट एकजना छात्र र एक जना छात्रा लाई तरुण दलले शिक्षा दिवस पारेर सम्मान गरेको हो । एसइईमा कुशलले ३।८ जीपिए ल्याएका छन् भने जुनाले ३।४८ जीपिए ल्याएकी छिन् ।
तरुण दलका क्षेत्रीय सभापति कल्पेश कुँवरको सभापतित्वमा भएको उक्त सम्मान कार्यक्रममा नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश का सदस्य काशीराम देबकोटा र गाउँशाखा सभापति गणेश रेग्मीले सम्मान गर्नुभएको हो । उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेश सदस्य देबकोटाले तरुणले ग्रामिण नागरिकले बुझ्नेगरी कार्यक्रम गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले जनताको भावना बुझेर काम नगर्ने हो भने जनताले पत्याउने अवस्था छैन त्यसैले तरुण दलका हरेक युवाले जनता को मन जित्ने कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो ।


कार्यक्रममा जानकी गाउँशाखा को सभापति रेग्मी,प्रदेश सदस्य गोबिन्द बिष्ट, वडासभापति मणिराज देबकोटा र सम्मानित व्यक्तिहरुका तर्फबाट कल्पना भण्डारी लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा स्वागत तरुण दल प्रदेश ‘क’ का सभापति रन्जित चौधरीले र सञ्चालन तरुण दलका क्षेत्रीय सचिब अनिल थारुले गर्नुभएको थियो । ‘‘समाजले बुझ्ने गरी तरुण दलले काम गर्नुपर्छ भन्ने हाम्रो सोच हो,’’ तरुण दलका क्षेत्रीय सभापति कुँवरले भन्नुभयो,‘‘बार्गेनिङ गर्ने राजनीति गर्दैनौं ।’’ उहाँले मैले के ,पाए के पाउने भन्दा पनि समाज र राष्ट्र लाई केही दिन सकिन्छ की भनेर कांग्रेसमा लागेका छौ भन्नुभयो । यसरी नगद सहित उत्कृष्ट बिद्यार्थी लाई सम्मान गरिएको पहिलो पटक हो ।
पालिकाले नगरेको काम तरुण दलले गरेको भन्दै स्थानीयले प्रशंसा गरेका छन् । तरुण दलले पछिल्लो समय कैलाली क्षेत्र नम्बर १ मा आफ्नो सकृयता बढाएको पूर्ब जिल्ला सहसचिब चिरञ्जिवी खनालले बताउनुभयो ।