तालाबन्दीका कारण टीकापुर नगरपालिकाको सेवा प्रभावित,म बाट त्रुटी भयो ताला खोलिदिनुस्ः नगर प्रमुख थारु

टीकापुर, १७ साउन/टीकापुर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका आन्दोलनरत सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई नगर प्रमुख            रामलाल डगौरा थारुले अन्तरवार्ताका क्रममा आफूबाट गल्ती भएको स्वीकार्दै ताला खोलिदिन आग्रह गर्नुभएको छ ।
नगर प्रमुख थारुले शुक्रबारएक विज्ञप्ति जारी गर्दै अनलाइन मा आफ्नो धारणा राख्दा केही शब्द त्रुटि हुन गई सुकुम्बासी र अव्यवस्थित बसोबासीमा पर्न गएको भ्रमप्रति दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले विज्ञप्तिमा ‘मैले अनलाइन खबरमा धारणा राख्ने क्रममा केही शब्दहरु त्रुटी हुन गई कहिँ कतै सुकुम्बासी नागरिकहरु मा पर्न गएको भ्रम र त्रासप्रति दुःख व्यक्त गर्दछु’ भन्नुभएको छ ।
विज्ञप्तिमा नगर प्रमुखको हैसियतले प्रचलित कानुन अनुसार विकास निर्माण कार्य तथा अन्य सेवा सुविधाहरु उपलब्ध गराउन पहल गर्ने, सहयोग र सहजीकरण गर्ने विश्वास दिलाउने उल्लेख गर्नुभएको छ ।
नगर प्रमुख थारुले भूमि आयोग ले समस्या समाधानका लागि कार्य गरिरहेकाले घोषित आन्दोलनका कार्यक्रमहरु स्थगित गरी ताला खोलिदिन आग्रह गर्नुभएको   छ ।
विभिन्न शिविरमा बसोबास गर्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले नगर प्रमुख थारु विरुद्ध नाराबाजी गर्दै आन्दोलनमा उत्रिएका छन् ।
टीकापुर बहुमुखी क्याम्पस को जग्गा अतिक्रमण गरी बसेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरु लाई जग्गा दिन नसकिने भन्दै उकालो अनलाइनमा नगर प्रमुख थारुको अन्तरवार्ता प्रकाशित भएको थियो । नगर प्रमुख थारुको उक्त अभिव्यक्ति पछि उनीहरु चरणबद्ध संघर्षका कार्यक्रम गर्दै आइरहेका छन् । तालाबन्दीका कारण पालिका केन्द्रबाट सम्पादन हुने कामहरु प्रभावित भएको पालिकाले जनाएको छ ।