टीकापुर, १७ फागुन/टीकापुर स्थित त्रिपथ बिद्या निकेतन को १५ औं बार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रवार भएको छ । बिद्यालयका अध्यक्ष हिक्मत बहादुर बिष्टको सभापतित्वमा भएको उक्त कार्यक्रममा टीकापुर नगरपालिकाका शिक्षा शाखा अधिकृत नरेश अवस्थी प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि अवस्थीले झोला भित्रको ज्ञान मात्र सिकेर नहुने भन्दै संस्कारयुक्त र चरित्र सहित को शिक्षा आवश्यक छ भन्नु भयो । ‘‘संस्कार दिन सकिरहेको अवस्था छैन,’’अवस्थीले भन्नु भयो ,‘‘शिक्षकहरुले संस्कारयुक्त शिक्षा दिन जरुरी छ ।’’ उहाँले संस्कृत भाषालाई पनि प्रोत्साहन गर्न सुझाव दिनुभयो । ‘‘४ जीपिए कागजमा हैन संस्कार र व्यबहारमा देखिनुपर्छ,’’ अवस्थीले भन्नुभयो,‘‘शिक्षाको परिवर्तन भनेको व्यबहारमा सकारत्मक परिवर्तन हो ।’’ उहाँले अभिभावक ले बच्चाको हेरचाहा नगरेको बताउनुभयो ।

बिशिष्ट अतिथी समाजसेवी भुवनेश्वर अधिकारी ले टीकापुरलाई शैक्षिक नगरी बनाउन त्रिपथले सकारात्मक भूमिका खेलेको बताउँनुभयो । ‘‘अंग्रेजी भाषालाई धेरै महत्व दिन जरुरी छैन भनेर आदर्शका कुरा गरिएपनि पछिल्लो समय बिद्यार्थी आइल्स र पिटिई जस्ता भाषा परिक्षाका लागि समस्यामा परेका छन्,’’ अधिकारीले भन्नुभयो,‘‘बालबालिकाको अधिकारका कुरा धेरै गर्यौ तर पठन संस्कृति कमजोर हुँदै गएको कुरामा ध्यान दिएनौं ।’’ उहाँले पठन संस्कृतिको विकास गर्न अधिकार भन्दा पनि अनुसाशन चाहिएको छ भन्नुभयो ।
कार्यक्रममा नागरिक समाजका संयोजक भिमराम चपाई , प्याव्सन टीकापुरका उपाध्यक्ष तथा सामुदायिक पुस्तकालयलका सचिब देबेन्द्र शाह, अभिभावक दिनेश चौधरी लगायतले बिद्यालय को प्रगतिको कामना गर्दै शिक्षालाई व्यबस्थित गर्न सुझाव दिनुभयो ।
बिद्यालयका प्रिन्सिपल मान बहादुर थापाले बिद्यालयको अवस्था बारे जानकारी गराउँदै छोटै अवधिमा अभिभावकले बिश्वास गर्नुभएको छ भन्नु भयो । ‘‘अभिभावकको बिश्वास टुट्न दिंदैनौ , बिगतको भन्दा यस बर्ष राम्रो गरेका छौ ,’’ थापाले भन्नुभयो,‘‘तीन बर्ष अघि शून्यबाट सञ्चालनमा आएको बिद्यालयमा यतिखेर ५ सय २८ जना बिद्यार्थी छन् ।’’ कितावी ज्ञान मात्र नभएर बाहिरी ज्ञानमा समेत ध्यान दिएको थापाले बताउनुभयो ।
कार्यक्रम सञ्चालन शिक्षक हिरण्ड मुडभरी र बीनिता साउँदले गर्नुभएको थियो ।
२०६७ सालमा स्थापना भएको बिद्यालय कोभिडका कारण बन्द भएको थियो भने २०७९ साल देखि टीकापुरमा पुनः सञ्चालनमा आएको हो । कार्यक्रममा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै परिक्षामा उत्कृष्ट हुने बिद्यार्थी पुरस्कार तथा सकृय अभिभावक लाई सम्मान गरिएको थियो ।
सिटिएफ नेपालका अशोक सुबेदी र निरा सुबेदीले शैक्षिक तालिम बारे जानकारी गराउनु भएको थियो ।