टीकापुर २३ असोज/आख्यानकार स्वर्गीय गगनसिंह थापाको आंठौ कृति ‘अस्ताचलको ढोकाबाट’ विमोचन भएको छ । थापाको दोस्रो स्मृति दिवस पारेर शनिबार टीकापुरमा उपन्यासको गृह विमोचन गरिएको हो । मदन पुरस्कार बिजेता साहित्यकार रामलाल जोशीले उपन्यासको विमोचन गर्नुभएको हो ।
बिमोचन कार्यक्रममा साहित्यकार जोशीले आख्यानकार थापालाई धारा प्रबाहा वक्ताको रुपमा चिनेको भन्नुभयो ।‘‘ मेरो सौगात र उहाँले निकालेको सोह् सौगात संयोगले निकटता भयो ,’’ जोशीले भन्नुभयो ,‘‘ कर्णालीको छेउँछाउँको अध्ययन गरेपछि आफुले गगनसिंहलाई पच्छाईरहेको महशुसु भयो ।’’ ‘‘थापा परिवर्तनकारी र क्रान्तिकारी नेताको रुपमा लागिरहनुभयो आज उहाँको कृति बिमोचन गर्ने मौका मेरा लागि सौभाग्य हो ।’’ साहित्कार जोशीले भन्नुभयो ।
आफू र आफ्नो श्रीमती नूतनलाई मुख्य पात्र बनाएर लेखिएको उपन्यासमा ग्रामीण क्षेत्रमा बाल्यकाल, देह, मुक्ती, स्वर्गद्वार, नयाँ लोक, जेल जीवन, देवलोक, वीपी कोइरालाले कल्पना गरेको समाजवाद, मत्र्यलोक, पार्टी कार्यालयमा पार्टीबाट पीडित कार्यकर्ताको आत्मा रुमल्लिएको अवस्थाको देह त्यागपछि आफैले देखेको परिकल्पना गर्नु भएको छ । ‘‘मृत्युबाट डराउँछौ तर यो किताव पढेपछि मृत्युको घण्टि बजेपछि दुखेसो र हतासामा नगई लेखनमा लाग्नुभएको पाइन्छ ,’’ जोशीले भन्नुभयो ,‘‘अक्षय, आत्मा र साहित्कार अजर अमर हुन्छन् यो तिनै चिजको संयोजन ‘अस्ताचलको ढोकाबाट’ मा पाइन्छ ।’’ मर्नु त छदै छ , कस्तो मृत्यु वरण गर्ने भन्ने बारेमा यो कितावमा लेखिएको छ भन्नुभयो ।
लेखक तथा साहित्यकार रामलाल जोशीले पहलमानसिंह स्वाँर, लोकेन्द्रबहादुर चन्द, महेशविक्रम शाह जस्तै स्वर्गीय गगनसिंह थापाका रचनाले नेपाली भाषा र साहित्यमा सुदूरपश्चिमका स्थानीय शब्दहरुले नेपाली साहित्यमा प्रवेश गराएको र थापाका प्रकाशन हुन बाँकी कृतिहरुले लेखिन बाँकी सुदूरपश्चिमका धेरै कथा र व्यथाहरु अगाडि ल्याउने अपेक्षा गर्नुभयो ।
उहाँले साहित्य क्षेत्रमा होस् या अन्य क्षेत्रमा सुदुरपश्चिमका कुरा सुन्ने धैर्यता राजधानीमा बसेका पत्रकार हुन् या अन्य बिद्धान कसैलाई छैन भन्ने गुनासो गर्नुभयो । जोशीले पछिल्लो समय टीकापुरमा पठन संस्कृति र बौद्धिक साहित्कार सुस्ताएको बताउँदै अरु कुरा सुस्ताए फेरी उठाउँन सकिन्छ तर बौद्धिक कुरा सुस्ताएपछि उठाउन गाहे हुन्छ भन्नुभयो ।
केही स्वैरकल्पना र केही यथार्थता रहेको तेह्र परिच्छेद र ३५१ पृष्ठको उपन्यासमा सुदूरपश्चिमको संस्कृति, पे्रम, पौराणिकता, इतिहास, राजनीति र सामाजिक यथार्थताको समिश्रण भेटिन्छ । सुदूरपश्चिमको आञ्चलिक भाव बोकेको ‘अस्ताचलको ढोकाबाट’ उपन्यास पढ्दा केही उपन्यास र केही आत्मसंस्मरण जस्तो भएकाले यसलाई साहित्यको नृसिंहअवतार भन्न मिल्ने टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक तथा पुस्तकका समिक्षक डाक्टर धनकृष्ण उपाध्यायले बताउनुभयो ।
उपाध्यायले लेखकलाई चिन्ने पाठकहरु आत्मसंस्मरण र नचिन्ने पाठकहरु उपन्यासका रुपमा बुझ्न सक्नेछन् भन्नुभयो । ‘‘कृतिमा दर्शन र बिश्को इतिहास केलाउने काम भएको छ ,’’ डाक्टर उपाध्यायले भन्नुभयो ,‘‘ कृति पढ्दा कति अध्ययन रहेछ भन्ने कुरा कृतिमा केलाएका कुराबाट प्रष्ट हुन्छ ।’’ ‘‘पूर्बीय दर्शन ,पाश्चात्य दर्शन , भूगोल र इतिहासको अध्ययन गरेको पाए ,’’ समिक्षक उपाध्यायले भन्नुभयो ,‘‘ बिश्वका इतिहासका पात्रहरुको बयान गरिएको छ भने कृतिमा खारिएको स्थानीय भाषा प्रयोग गरिएको छ ।
सोही कार्यक्रममा स्वर्गीय थापाले जीवनमा शिक्षक, शुरुमा कम्यूनिष्ट बिचारक, लामो समय काँगे्रसको राजनीतिकर्मी, सामुदायिक वन अधिकारकर्मी, साहित्यकार र विशेष गरी आख्यानकारका रुपमा समाजलाई योगदान दिएको उहाँका समकालिन तथा साहित्यकार कर्ण थापाले बताउँनुभयो । कार्यक्रममा साहित्यकार धनञ्जय तिमिल्सिना, मिनबहादुर रावल, लेखक थापका छोरी पद्मिनी थापाले उपन्यासका विभिन्न पक्षमा विचार राख्नु भएको थियो ।
लेखकका छोरा हिक्मत थापाले स्वर्गीय बुबाले मृत्यूवोध गरिसकेपछि मृत्यूपछिको परिकल्पना अनुसार लेखिएको आठौं कृति भएको र अझै २० वटा कृतिका पाण्डुलिपि तयार रहेको बताउनुभयो ।
स्वर्गीय गगनसिंह थापाका सोह्र सौगात कथासंग्रह, कर्णालीको छेउछाउ, पूर्खाको चिठी, मेरो मधुशाला उपन्यास लगायत सातवटा कृति यसअघि प्रकाशित भैसकेका छन् । कार्यक्रम देबकोटा साहित्य क्लवका अध्यक्ष बलबहादुर रावलको अध्यक्षतामा भएको थियो ।