सम्पादकीय
नेपाली समाज यति भ्रष्ट भयो कि दिसामा कमिसन खाने गर्छन् । टीकापुर नगरपालिकामा खाने पानी संस्था मार्फत आएको ढल निकास कार्यक्रमसंगै निर्माण भएको मलमूत्र व्यवस्थापन केन्द्र मलमूत्र अभावका कारण छान्ने प्रकृया शुरु भएको छैन । दिनमा ३ ट्यांकर मलमूत्र आवश्यक पर्छ मलमूत्र व्यवस्थापन केन्द्रलाई । दैनिक तीन ट्यांकर भएपछि केन्द्रको छान्ने प्रकया सहज रुपमा सञ्चालन हुन्छ । करोडौ लगानी भएको मलमूत्र व्यबस्थापन केन्द्र सञ्चालनमा नगरपालिकाले ध्यान दिएको पाइदैन । निर्माण भएको एक बर्ष भयो तर छान्ने प्रकृया एकपटक पनि भएको छैन । यसले गर्दा निर्माण भएको सञ्चारना कस्तो भयो भनेर प्राविधिकले जाँच गर्न पाएका छैनन् । एकातिर यति ठूलो संरचना निर्माण भएको अर्काे तर्फ मलमूत्र खुल्ला क्षेत्रमा फाल्ने गरिएको छ । दिसामुक्त क्षेत्र घोषणा भएको ठाउँमा यो वा उ बहानामा दिसा खुल्ला क्षेत्रमा फाल्न पाइदैन । नगरपालिकाको अगुवाईमा खुल्ला सोच नगर्ने नियम बनाएर खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएपनि नगरपालिकाले कार्यान्वय पक्षमा ध्यान दिएको पाइदैन । नगरपालिकाले खुल्ला क्षेत्रमा मलमूत्र फाल्नेलाई कडा कारबाही गर्ने नीति बनाउने हो भने मलमूत्र व्यबस्थापन केन्द्रमा मलमूत्र फाल्नुपर्ने हुन्छ । नगरपालिकाले खुल्ला क्षेत्रमा सौचालयको फोहर फाल्ने ट्यांकर र घरधनीलाई कारबाही गर्नुपर्छ । यत्ति गर्न पनि नगरपालिकाले भ्याएको छैन । कतिसम्म भएको छ भने दिसा फाल्दा पनि कमिसन खाने गरेका छन् । नगरपालिकाले रसिद काटेर ७७ वटा ट्यांकी मलमूत्र व्यबस्थापन गरेको पाइन्छ तर मलमूत्र व्यबस्थापन केन्द्रमा जम्मा ४५ ट्यांकर मात्र पुगेको छ । यसबाटै प्रमाणित हुन्छ कि मलमूत्र खुल्ला क्षेत्रमा फालिन्छ भन्ने । एउटा नगरपालिकाले ७७ वटाको ट्यांकी सफा गरेको छ भने दुई वटा नीजि ट्यांकरले मलमूत्र उठाउने गरेका छन् । यसरी नीजि क्षेत्रले उठाएको मलमुत्र कहाँ गयो ? मलमूत्र व्यबस्थापन केन्द्रमा मलमूत्र नआएपछि परामर्श दाता आफै कस्निनु परेको छ । यो भन्दा लाजमर्दाे कुरा अरु के होला ? बनाइदिनुपर्ने अनी हारगुहार गरेर अर्कैले चलाई दिनुपर्ने हो भने नगरपालिकाको काम के ? यस क्षेत्रका सबै स्थानीय जनताको घरघरबाट मलमूत्र ल्याएर व्यबस्थापन गर्न सक्ने संरचना निर्माण भएको छ तर सञ्चालनमा यस क्षेत्रका नागरिक पनि सचेत छैनन् । नागरिक चुपचाप बस्ने मुलुकमा धेरे आशा गर्न सकिन्न । तसर्थ टीकापुर नगरपालिका र अन्य स्थानीय पालिका गम्भिर हुन जरुरी छ । टीकापुर नगरपालिकामा मात्र १९ हजार घरधुरी छन् । यसबाट पनि बुझ्न सकिन्छ ।