दुई दिनको बर्षाले कैलालीको जनजीवन प्रभावित यस पटक पनि धान वाली नास

टीकापुर,२ असोज/बिहिबार र शुक्रवार परेको अबिरल बर्षाका कारण कैलालीको जनजीवन प्रभावित भएको छ । लगातारको झरीले कैलालीको भजनी बढी प्रभावित भएको छ ।


भजनीको वार्ड नम्बर ६, ७ र ९ मा कम क्षती भएपनि वार्ड नम्बर १,२,३ ,४ ,५ र ८ मा बढी क्षती भएको छ । मानवीय क्षती भएको समाचार प्राप्त नभएपनि बाढीले प्रभाव पारेका वार्डमा धेरै नोक्सानी गरेको स्थानीय पत्रकार जयबहादुर बुढाले जानकारी गराउनुभयो । बुढाका अनुसार वार्ड नम्बर ३, ५ र ८ का बाढी प्रभावितहरु हुलाकी सडकमा बसेका छन् । जानकी गाउपालिकाको वार्ड नम्बर २,४,५,७ र ९ प्रभवित भएका छन् । वार्ड नम्बर ४ र ७ बढी प्रभावित भएको बुझिएको छ । वार्ड नम्बर ४ र ७ को जवलपुर र फडेलामा बाहिर बाट कोही पनि जान सक्ने अवस्था नहरेको भन्दै गाउूपालिकाका अध्यक्ष गणेश चौधरीले डुंगामा पानी , चाउचाउ र चिउरा पठाएको बताउनुभयो । ‘‘जवलपुरमा रहेको उच्चा भवनमा बाढी प्रभावितलाई बस्न भनेका छौ ,’’ अध्यक्ष चौधरीले भन्नुभयो ,‘‘ बस्ति पुरै डुबान भएकाले कति क्षती भएको छ एकिन गर्न सकेका छैनौं ।’’ उहाँले अन्य वडाका बाढी प्रभावितलाई बिद्यालयमा राख्ने व्यबस्था मिलाएको बताउनुभयो । यसै गरी टीकापुर नगरपालिकाको वार्ड नम्बर २ को बिजय नगरमा एउटा घर भत्केको छ भने ८ वटा घरमा पानी पसेको छ । बाँधुराम चौधरीको घर भत्कदा उनका १८ बर्षे छोरा सिरिष चौधरी घाइते भएको वडाध्यक्ष दिपक चौधरीले बताउनुभयो ।
यसै गरी बाढीले वार्ड नम्बर ६ को भगवानपुर, पर्सेनी, ओखरपुर र मिलन शिबिर पुरै जलमग्न भएको छ । कति क्षती भएको छ भन्ने एकिन नभएपनि अधिकांस घरमा पानी पसेको स्थानीय नृपबहादुर कडायतले जानकारी गराउनुभयो । शनिबार ४ बजेसम्म पनि त्यस क्षेत्रमा बाहिरबाट जान सक्ने अवस्था नभएको कडायतले बताउनुभयो ।


उता बाढी ग्रस्त क्षेत्र भनेर चिनिने वार्ड नम्बर ८ को बनगाउँ र फाँटा क्षेत्र पुरै डुबानमा परेका छन् । त्यस क्षेत्र जलमग्न रहेको स्थानीय शेरबहादुर साउँदले जानकारी गराउनुभयो । घरमा पानी पसेपनि अन्य क्षती नभएको बुझिएको छ । बाढीले त्यस क्षेत्रमा धानवाली नास गरेको साउूदले बताउनुभयो । ‘‘फूल फुल्न लागेको धान बाढीले सोत्तर बनायो ,’’ साउूदले भन्नुभयो ,‘‘ कर्णाली नदी राम्रोसंग तटबन्ध नहुँदासम्म यस क्षेत्रका जनताले बर्षेनी दुख पाउनुपर्ने भयो ।’’ उहाँले कर्णालीमा तटबन्ध गर्ने बिषयमा सिंचाई आयोजना गभिंर नभए को बताउनुभयो । यता टीकापुर नगरपालिका वार्ड नम्बर १ को ब्लक नम्बर १४ यस बर्ष पनि डुबानमा परेको छ ।
ब्लक नम्बर १४ डुबानमा परेपछि स्थानीयले शुक्रवार राती देखि पानी निकास गर्न भूमिका निभएका थिए । नगरपालिकाको डोजर शनिबार दिउँसोसम्म पानी निकासका लागि काम गरिरहेको थियो । यस पटक सामुदायिक एफएम हुँदै जमरा बग्ने गरी बनाइएको ढलबाट सहज रुपमा पानी बगेकाले बजार क्षेत्र डुबान हुनबाट बचेको हो । अघिल्लो बर्ष धान काट्ने बेला आएको बाढीले कैलालीको दक्षिण पूर्बी भेगको ७० प्रतिशत धान नास गरेको थियो भने यस पटक त्यति क्षती नभएपनि फूल फुलेको बेला आएको बाढीले धान नास भएको स्थानीयको भनाई छ । नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाले मानवीय क्षती नभएको र घरमा पानी पसेर समस्या भएको कुरा जानकारी गराएको छ । ‘‘ बाढी घरमा पानी पसेको कुरा आएको छ तर मानवीय क्षती भएको कुरा आएको छैन ,’’ रेडक्रस टीकापुर उपशाखाका सभापति दत्त बहादुर बिष्टले भन्नुभयो ,‘‘ क्षतीका बारेमा बुझ्न हामी रेढक्रसकर्मीहरु बाढी प्रभावित क्षेत्रमा छौ ।’’