टीकापुर,२९ कार्तिक/टीकापुर अस्पतालमा नर्सहरुको क्षमता विकासका लागि दक्ष प्रसुति सेवा प्रदायक तालिम भइरहेको छ । तालिममा टीकापुर अस्पतालमा कार्यरत ४ र १ जना बझाङ स्वास्थ्य चौकीमा कार्यरत नर्स गरी ५ जना सहभागी छन् । टीकापुर अस्पताल र प्रदेश स्वास्थ्य तालिम केन्द्र धनगढीको आयोजना, कोइका, आरसीआइ र सेवक नेपालको आर्थिक सहयोग मा शुरु भएको तालिम दुई महिनासम्म चल्नेछ । तालिममा प्रशिक्षण अस्पताल मा कार्यरत चिकित्सक तथा सिनियर नर्सिङ अधिकृतले दिइरहनु भएको छ ।
बझाङको खप्तडसान्ना स्थित एक स्वास्थ्य चौकीमा कार्यरत शान्ति शाही बर्थिङ सेण्टरमा कार्यरत हुनुहुन्छ । उहाँ एक्सन पड नेपाल संस्थाको सहयोगमा टीकापुर अस्पताल पुगेर सिकिरहनु भएको छ । सुत्केरी सेवा दिँदा आमा र बच्चाको अवस्था थाहा पाउनुका साथै गुणस्तरीय सेवा दिन सहज हुने उहाँको अपेक्षा छ ।

शान्ति बाहेक ४ जनाको तालिम खर्च कोइका, आरसीआइ र सेवक नेपालले बेहोरिरहेका छ । अस्पतालमा विगत ४ वर्ष देखि कार्यरत स्टाफ नर्स दुर्गा विक तालिम पाउनु अवसर भएको बताउँदै तालिम पछि सुत्केरी सेवा प्रभावकारी र सुत्केरी पछिको स्याहारमा सहयोग हुने बताउनुभयो ।
डेढ वर्षदेखि अस्पतालमा कार्यरत अर्चना शाह पनि तालिम मा सहभागी हुन पाउँदा खुशी हुनुभएको छ । नर्सहरु दक्ष र आत्मविश्वास सहित काममा खटेमा मातृशिशु मृत्युदरमा कमी आउने उहाँको अपेक्षा छ ।
४ वर्षदेखि टीकापुर अस्पताल मा कार्यरत सीता चौधरी पनि पहिलो पटक दक्ष प्रसुति सेवा बारे तालिम लिएपछि सेवा प्रवाह मा थप सहजता आउने बताउनु हुन्छ । ४ वर्षदेखि नै अस्पतालमा कार्यरत कविता भूल प्रसुति सेवा दिँदा तालिम प्राप्त भएमा कसरी व्यवस्थापन गर्ने, कसरी गुणस्तरीय सेवा दिने भन्नेमा आत्मविश्वास बढ्ने बताउनुहुन्छ ।
अस्पतालका नर्सिङ निरीक्षक शारदा पुन ६० दिनसम्म आमा र बच्चाको स्याहार, आमा गर्भवती भएदेखि सुत्केरी भएको ४५ दिनसम्मको स्याहार र उपचारबारे सीप र ज्ञान दिइने बताउनु हुन्छ ।
सेवक नेपालका कार्यक्रम अधिकृत इन्द्रराज जोशीले अस्पतालमा सञ्चालित परियोजना ले विगत ३ वर्षदेखि यस्ता खाले तालिम दिँदै आएको, यस वर्ष पनि सञ्चालन भएको र आगामी वर्ष पनि निरन्तरता दिने बताउनु भयो ।