दुर्गा देवकोटा
टीकापुर, १२ साउन/किशोरी सशक्तिकरण परियोजनाले गरेका कार्यको समिक्षा गरिएको छ । परियोजनाले ११ महिनामा टीकापुर नगरपालिका र कैलारी गाउँपालिकामा गरेका कार्यको यी दुबै पालिकामा समिक्षा गरिएको हो । परियोजनाले पालिकामा पोषण, लैंँगिक हिंसा,बाल संरक्षण र सामाजिक सुरक्षाका क्षेत्रमा काम गरिरहेको छ ।
कार्यक्रम संयोजक तिलक चौधरी यी तिन क्षेत्रमा परियोजना ले पालिकाको सहकार्यमा काम गर्दै आएको बताउनुभयो ।
टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमनसिँह चौधरी थोरै साधनस्रोतमा पनि किशोरीका क्षेत्रमा गरिएको कार्य राम्रो भएको बताउनुभयो । ‘‘संस्थाले किशोरीका क्षेत्रमा काम गरेको छ, राम्रा काम गरेको छ’’, उहाँले भन्नुभयो, ‘‘हुन त यस्ता कार्यको नतिजा देखिन केही समय लाग्छ । हामीले नतिजा देखिने खालका काम गर्नुपर्छ भन्ने गरेका छौँ । अब त्यसमा पनि ध्यान दिनुपर्छ ।’’
चौधरीले काम गर्दा पनि नतिजा नदेखिएकाले लागू पदार्थ यस क्षेत्रको मागी खाने भाडो बन्दै गएकाले त्यसमा काम गर्दा सचेत हुनुपर्ने बताउनुभयो । ‘‘लागू पदार्थ न्यूनिकरणमा प्रहरी, पालिका, संघसंस्था, सरोकारवाला, विद्यालय सबैले काम गरिरहेको छ, खर्च पनि धेरै छ’’, उहाँले भन्नुभयो, ‘‘तर दैनिक बढीरहेको छ । यो मागी खाने भाडो जस्तै लाग्न थालेको छ । अब यसमा काम गर्दा ध्यान दिनुपर्छ ।’’
संस्थाका कार्यकारी निर्देशक हेमराज जोशीले यो परियोजना निरन्तर रहने बताउँदै टीकापुर नगरपालिकाका प्राथमिकताहरु परियोजनाका समेत प्राथमिकता मा रहने बताउनुभयो ।
उहाँले परियोजनाले आउँदा दिनमा पोषण, हिंसामात्र नभइ खानेपानी तथा सरसफाईमा समेत काम गर्ने बताउनुभयो । ‘‘संस्था फेरिन सक्छ तर परियोजना निरन्तर चल्छ’’, उहाँले भन्नुभयो, ‘‘आगामी वर्ष केही कार्यक्रम थपिनेछन् । हामी सरसफाईमा समेत काम गर्नेछौँ ।’’
स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले परियोजनाले खोप कार्यक्रम, गाउँघर क्लिनिक, बालबालिकाको पोषण र खानेपानीमा सघाउन अनुरोध गर्नुभयो ।
युनिसेफ नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्रद्धारा कैलालीको टीकापुर नगरपालिका र कैलारी गाउँपालिका मा किशोरी सशक्तिकरण परियोजना सञ्चालनमा छ ।
सामाजिक विकास समितिका संयोजक लालविर चौधरीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन महिला बालबालिका शाखा प्रमुख संगीता शाहले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य रामबहादुर नगार्जी, सिनियर अहेव कमल रावल लगायतले बोल्नुभएको थियो ।