मन्त्री श्रेष्ठद्वारा स्वर्गीय बालक टेकबहादुरको सालिक अनावरण

टीकापुर, ८ भाद्र/ भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले २०७२ साल भदौ ७ गते टीकापुरमा भएको घटनामा ज्यान गुमाएका बालक टेक बहादुर साउदको शालिक अनावरण गर्नु भएको छ ।
आठ वर्षअघि टीकापुरमा हिंसात्मक घटना भएको दिन पारी नागरिक उन्मूक्ति पार्टीका अध्यक्षसमेत रहेकी मन्त्री श्रेष्ठले टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर २९ स्थित निर्माणाधिन प्लानेटोरियम परिसरमा स्वर्गीय बालकको शालिक अनावरण गर्नु भएको हो ।
मन्त्री श्रेष्ठले अबदेखि कुनै आमाले यस्तो पीडा भोग्न नपरोस यस्तो घटना नदोहोरियोस भन्दै अब टीकापुर राजनीति गर्ने थलो मात्र नबनाई सद्भाव पूर्ण वातावरणमा विकासतिर अघि बढनुपर्ने बताउनु भयो । उहाँले यस्तो अकल्पनीय घटना नेपालमा कहिल्यै कतै नहोस भन्दै सबै शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
नेपालको संविधान जारी हुनुपूर्व २०७२ साल भदौं ७ गतेका दिन थरुहट प्रदेश हुनपर्ने माग गर्दै भएको प्रदर्शन हिंसात्मक भएपछि वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने सहित नौ जना प्रहरी र एक बालकको ज्यान गएको थियो । बालक टेकबहादुर साउदको शालिक नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले बनाएर सो पार्टीलाई हस्तान्तरण गर्नु भएको हो ।


प्रतिनिधि सभाको सदस्य चुनिएर पनि पाँच वर्षसम्म संसद छिर्न नपाएको भन्दै चौधरीले त्यही घटनाबाट जन्मेको नागरिक उन्मुक्ति पार्टी र टेकबहादुर साउद का परिवारका बीचको सम्बन्ध सुमधुर रहेको बताउनुभयो ।
स्वर्गीय बालकका बुबा नेत्र साउदलाई मञ्च मै अंकमाल गर्दै चौधरीले हत्याको आरोपित रेशमलाल र बालकका बुबा बाजे एउटै मञ्चमा छु हत्यारालाई कसैले स्विकार्छ रु भन्दै रञ्जिता मन्त्री भएपछि साउद परिवारले मन्त्रालय पुगेर आशिर्वाद दिनु भएको र टेक बहादुर आफ्नो पनि छोरा ठान्दै सालिक बनाएको बताउनुभयो । चौधरीले स्वर्गीय बालकका बाजे जंगबहादुर साउदलाई शहिद प्रहरीका घरमा पुगेर अनुमति ल्याए दिवंगत प्रहरीको शालिक पनि आफैले बनाउने बताउनुभयो ।


कार्यक्रममा बोल्दै जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी ले टीकापुर घटनापछि यहाँको विकास को गति रोकिएको बताउनुभयो ।
यसैगरि २०७२ भदौ ७ गतेका सहिदहरुको सम्झना को अवसरमा टीकापुर अस्पताल मा फलफुल वितरण गरिएको छ । फलफुल वितरण भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले गर्नुभएको थियो । नागरिक उन्मुक्ति पार्टीको आयोजनामा अस्पतालमा भर्ना भएका ८५ जना बिरामीलाई फलफुल वितरण गरिएको छ ।
यस्तै भदौ ७ गते स्मरण दिवश भन्दै टीकापुर घटनाका राजबन्दी परिवारलाई खाद्यान्न प्रदान गरिएको छ । टीकापुर घटनाका अहिलेसम्म जेलजीवन व्यतित गरिरहेका हरिनारायाण चौधरी, प्रदिप चौधरी, श्रवण चौधरी र विरबहादुर चौधरी को परिवारलाई चामल, दाल, तेल लगायतका खाद्यान्न प्रदान गरिएको छ । खाद्यान्न वितरण गर्दै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले अब जेलमा रहेकाको रिहाइका लागि प्रक्रिया शुरु भएको बताउनु भयो ।
उहाँले आउँदो असोज महिना सम्म जेलबन्दी रिहाई गर्ने प्रतिवद्धता गर्नुभयो । खाद्यान्न वितरण कार्यक्रम मा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी नरहे, नेता नहुने भएकाले सबैले पार्टीप्रति जिम्मेवार भएर लाग्न आग्रह गर्नुभयो । नागरिक उन्मुक्ति पार्टीले उहाँहरुलाई खाद्यान्न वितरण गरिएको हो ।
त्यसैगरी टीकापुरमा टेक बहादुर साँउद स्मृति केन्द्रको आठौ वार्षिक साधारण सभा भएको छ । सभाले पुनः अध्यक्षमा जंगबहादुर साँउदलाई सर्वसम्मत चयन गरेको छ । सभाले उपाध्यक्षमा गणेश ओझा, कोषाध्यक्ष मा दिपा साँउद, सचिवमा विरबहादुर चौधरी, सहसचिवमा गंगा कुँवर सहित ११ सदस्यीय समिति चयन गरेको छ ।
जंगबहादुर साउदको अध्यक्षतामा भएको सभा उद्घाटन कार्यक्रममा प्रमुख अतिथी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ रहनु भएको थियो ।
स्मृति केन्द्रका सचिव विरबहादुर चौधरीले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन गणेश ओझाले गर्नुभएको थियो । सभामा आर्थिक वर्ष २०७९/८० को १३ लाख बराबरको आयव्यय विवरण प्रस्तुत गरिएको छ ।
यस्तै, टेकबहादुर साँउद स्मृति केन्द्रको आठौ वार्षिक साधारण सभाको अवसरमा वृहत रक्तदान कार्यक्रम भएको छ । रक्तदान कार्यक्रमबाट ३३ पिन्ट रगत संकलन भएको छ ।
जानकी गाउँपालिकाको सहयोग, नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुरको प्राविधिक सहयोग र टेकबहादुर साउँद स्मृति केन्द्रको आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।