सम्पादकीय
नेपाली समाजमा यस्तो चरित्र हाबी भएको छ कि न आफु जान्ने न अरुबाट सिक्न चाहने । अरुबाट राम्रो काम सिके तल परिन्छ भन्ने मानसिकता राखेर काम गर्दा समस्या भएको छ । जेनतेन पद हासिल गर्ने तर देश र जनताको काम गर्नेबेला असफल हुने चरित्र निर्माण भइरहेको छ । जनता जतिसक्यो चाडो देशको अवस्था सुधार होसे भन्ने चाहन्छन् तर अवसर पाएको नेतृत्व आफ्नै गतिमा हिड्न खोज्छ, गति बदल्न भनेपछि अरुबाट सिक्न जरुरी छैन भन्ने उपदेश दिन्छ । २०४६ को परिवर्तन पछि उह िशैलीमा मुलुकलाई अघि बढाउने प्रयास भइरहेको छ । गणतन्त्र आएपछि पनि उहि चरित्र र उहि सोच राखेर काम गर्दा यतिखेर मुलुक अस्तव्यस्त भएको छ । बर्तमान सरकार आएपछि एक आपसमा देखासिखी गर्दै प्रचारात्मक शैलीमा काम गर्न थालेका छन् । नेपाली जनता सरकारी कामकाजको शैलीबाट वाक्क दिक्क भएका छन् । हरेक सरकारी निकायमा ढिलासुस्तीले जनता दिक्क भएका छन् तर सत्तामा बस्नेहरुलाई केही मतलव थिएन । रबी लामिछाने गृहमन्त्री भएपछि देखिएको परिवर्तनले जनतामा केही आशा पलाएको महशुस गरेका थिए तर उनले काम गर्न पाएनन् । रबीले काम गर्न नपाउनुको कारण कानूनी बाटो भएपनि नागरिकले यसलाई षडयन्त्रका रुपमा बुझेका छन् । आम नागरिकले रबी तीर नजर लगाए पछि अरु मन्त्रीलाई पनि दबाब परेको छ । त्यहि देखासिखीमा अन्य मन्त्रीले पनि कार्यालय निरिक्षण गर्ने देखि कठोर भएर उच्च कर्मचारी लाई निर्देशन दिन थालेका थिए । २०७९ साल मसिंरमा भएको प्रदेश र संघको निर्बाचनबाट आएको जनादेश डरलाग्दो छ । संघको होस् या ७ वटै प्रदेशको जनादेश मिलेर सत्ता चलाउ भन्ने छ तर यस्तो जनादेशबाट सरकार चलाउने क्षमता नेपाली राजनेतामा छैन ।सत्ता मिलेर चलाउनु भनेको मिलेर खानु हो भन्ने बुझेका छन् दलका नेताहरु ले । जनता निरास छन् तर नेताहरु सत्ताका लागि मरिहत्ते गरिरहेका छन् । तसर्थ नागरिक सचेत हुन जरुरी छ । नागरिकको काममा भन्दा अन्यतिर ध्यान दिने नेताहरुलाई सामाजिक बहिस्कार गर्न जरुरी छ । नागरिकले बहिस्कार नीति नलिदासम्म नेतामा सुधार आउने अवस्था छैन ।