देशका धेरै ठाउंबाट भागेको ग्लोबल ओरियन्सले टीकापुरमा हजार युवाबाट करोडौ असूली

टीकापुर, ५ चैत/देशका विभिन्न ठाउँमा ठगी गरेका कारण भाग्दै आएको ग्लोबल ओरियन्स नेपालले टीकापुरमा भने पैसा उठाउने सुनौलो अवसर पाएको छ ।
ओरियन्सलाई बहुराष्ट्रिय कम्पनी बताउदै नेटवर्किङ व्यवसाय चलाई ठगी गरिरहेका बर्दियाका चार जना २०७६ कात्तिक मै बर्दियामा पक्राउ परेका थिए । पक्राउ पर्नेमा गुलरियाका विवेक थारु, प्रजय चौधरी, दिपक चौधरी र आशा थारु थिए । उनीहरुले नेपालमा भारतीय कम्पनी ग्लोबल ओरियन्स मार्केटिङको नामबाट धन्दा चलाउदै नेपाली पैसा भारत पठाइरहेका थिए ।
बर्दियामा काम गर्ने चार जना पक्राउ परेपनि कैलालीमा भने टीकापुर साजन चौधरीले आफूमूनि हाँगा बनाएर दुई जना सन्तोष चौधरी र मनोज चौधरीलाई ल्याएपछि फस्टाएको हो ।
२०७७ असारमा नेपालमा नै ग्लोबल ओरियन्स कम्पनी खुलेपछि नेपाली युवाहरुलाई नेपालमै नेपालीबाट लुटिन थालेका हुन् । टीकापुर कार्यक्षेत्र बनाएका साजन चौधरीले यही कामलाई निरन्तरता दिएका हुन । कम्पनीका पाचौ तहका लिडर जितेन्द्र विक नै यहाँका नवौ तहका लिडर भएको बताउनुहुन्छ । बेरोजगार र सोझा युवाहरुलाई आकर्षक तलब र बोनस पाइने प्रलोभन देखाएर फसाउने र फसेका युवालाई नयाँ मानिस बनाए बोनस बढने प्रलोभनमा फसाउने सिलसिला बढ्दै जाने गरेको युवाहरु बताउछन् ।
युवाहरुका पैसासंगै समय पनि खेर गैरहेको छ । प्रवेश शुल्क र आवास खर्च वापत ३ हजार लिने कम्पनीले दुई दिनको तालिम दिएपछि १५ हजार, ४० हजार र १ लाख २० हजारको श्रेणी बनाई पैसा असूल्ने गरेको छ ।
टीकापुर भेटिएका अधिंकाश युवाहरुले भने ४० हजारबाट शुरु गर्ने गरेका छन् भने सक्नेले तेस्रो श्रेणीको एक लाख २० हजार नसक्नेले १५ हजारको पहिलो श्रेणीको रकम बुझाउने गरेका छन् ।
दैलेखकी पार्वती भण्डारी दैलेखकी साथी गीता मल्लले भनेका कारण टीकापुर आएको र ४० हजार बुझाएर चित्त नबुझेर एसइइको मार्कसिट पनि छोडेर फर्केको बताउछिन ।
बस्तुको प्रत्येक्ष बिक्री गर्ने भनिए पनि पैसा बुझाएका व्यक्तिहरुले पैसा बुझाएको रसिद पाएका छैनन् । यस विषयमा प्रहरीमा उजुरी परेपछि आइतबार ग्लोबल ओरियन्सको टीकापुर अफिस र विभिन्न ठाउँमा रहेका आवास गृह बन्द भएका छन् । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले केही व्यक्तिहरु अनुसन्धान भैरहेको बताउनु भयो ।
फाष्ट टूयाकबाट गए छिटै माथि पुग्ने प्रलोभन देखाउने गोल्ड डाइरेक्टर, डायमण्ड डाइरेक्टर, एम्वासडर क्राउन एम्बासडर जस्ता तह श्रृजना गरेको छ ।
ग्लोबल विरुद्ध २०७८ पुसमा पोखरामा सयौ युवाहरु ठगिएको भन्दै उजुरी परेपछि त्यहा ठगी घटेको थियो । कैलालीमा भने लम्की भजनी, धनगढी लगायत का क्षेत्रमा यस्ता शाखा बढाउदै लगेको छ ।