टीकापुर, ५ माघ/वर्षौदेखि पक्की पुलको आशामा बसेका बर्दिया र कैलालीका जनताले पक्की पुल नपाए पनि झोलुङ्गे पुल पाउने भएका छन् भने नारायणपुरको बेलुवा र थापापुर जोड्ने बेलुवा घाटमा पनि झोलुङगे पुल बन्ने भएको छ ।
सहरी विकास मन्त्रालयले बजेट सुनिश्चितता मागेपछि अर्थ मन्त्रालय ९बजेट तथा कार्यक्रम महाशाखा० ले बजेटको सुनिश्चितता दिएको हो । बजेट सुनिश्चितता भएपछि कैलाली र बर्दिया जोड्न दौलतपुर घाटमा पुल निर्माण हुने भएको हो । मन्त्रालयले पुल निर्माणका लागि १४ करोड २२ लाख रुपैया छुट्याएको छ । यस अघि सोही स्थानमा पुल निर्माणका लागि जम्मा १० लाख रुपैया छुट्याइएको थियो । १० लाख रुपैया डिपिआर गर्नका लागि छुट्याइएको हो ।
यसैगरी बेलुवा घाटका लागि ३ करोड दुई लाख रुपैया छुट्इयाएको छ । यसअघि यो शिर्षकमा ८५ लाख रुपैया छुट्याइएको थियो । कैलाली क्षेत्र नम्बर १ का सांसद इश्वरी न्यौपानेले पुल निर्माणका लागि शिर्षक दिए पनि पैसा कम भएका कारण पुल निर्माण हुन सक्ने अवस्था थिएन । दौलतपुर घाटमा झोलुङ्गे पुल निर्माण हुने भनिए पनि पुलमा रकम कम परेको गुनासो स्थानीय जनताले गर्दै आएका थिए ।
‘‘केही दिन अघि मात्र सांसद न्यौपानेले बजेटका लागि पहल गर्ने आश्वासन दिनुभएको थियो’’, स्थानीय अनन्त खड्काले भन्नुभयो, ‘‘हाम्रो माग पक्की पुल नै हो, यो पुरानो एतिहासिक घाट हो ।’’ उहाँले झोलुङगे पुल भएपनि राहत हन्छ भन्नुभयो ।

सहरी विकास मन्त्रालय मार्फत पुल निर्माण हुने सासंद न्यौपानेले बताउनुभयो । ‘‘दौलतपुरका लागि १० लाख मात्र थियो १४ करोड बढी बजेट सुनिश्चित भएको छ, यस पटक जति सकिन्छ त्यति काम हुन्छ , बेलुवा घाटको यही बर्ष सम्पन्न हुन्छ’’, सांसद न्यौपानेले भन्नुभयो, ‘‘सहकारी विकास मन्त्री प्रकाशमान सिंहले हाम्रो क्षेत्रको गुनासो सम्बोधन गरिदिनुभएको छ ।’’
टेण्डर प्रकृया पुरा गरेर पुल निर्माणमा केही समय लाग्ला तर अब पुल बन्नेमा ढुक्क छु भन्नुभयो । टीकापुर उद्यान नजिक रहेको दौलतपुर घाटमा पुल निर्माण भयो भने लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश जोड्न सहज हुन्छ । नदीकै कारण त्यस क्षेत्रका जनता डुगांको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
उता बेलुवा घाटमा पुल निर्माण भयो भने वर्षौदेखि सास्ति बेहोर्दै आएका टीकापुर नगरपालिका र भजनी नगरपालिकाका जनता लाई आवत जावत गर्न धेरे सहज हुने स्थानीयको भनाइ छ । यी दुई पुल निर्माण हुने हो भने जनतालाई धेरै राहत हुन्छ भन्दै स्थानीय समाजसेवी चीरञ्जिबी खनालले तराई क्षेत्र सुगम देखिएपनि पुलकै कारण दुर्गम झे भएको बताउनुभयो । ‘‘पुलका लागि बजेट सुनिश्चिता हुनु यस क्षेत्रका जनताका लागि खुसीको कुरा हो’’, खनालले भन्नुभयो ।