टीकापुर,१६ असार/धान दिवसको अवसरमा असार १५ आइतवार देशभर रोपाईका कार्यक्रम भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र कृषि क्षेत्रसंग सम्बन्धित सरकारी र गैरसरकारी संस्थाले धान दिवस मनाएका छन् । उनीहरुले किसानका खेतमा गएर कार्यक्रम सहित रोपाई गरेका हुन् ।
यसै क्रममा नेपाली कांग्रेस कैलालीले ५ वटै निर्बाचन क्षेत्रमा धान दिवस मनाउने निर्णय गरेपछि सबै निर्बाचन क्षेत्रमा धान रोपाइका कार्यक्रम भएको समाचार प्राप्त भएका छन् । यसै क्रममा कैलाली क्षेत्र नम्बर १ ले जानकी ४ मुनवा स्थित कमल कठरियाको खेतमा धान दिवस मनाउँदै रोपाई गरेको हो । रोपाई कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
असार १५ नेपालीहरुले दही चिउरा खाने प्रचलन अनुसार दही चिउरा खुवाइएको थियो ।‘‘ नेपाली कांग्रेसले असार १५ लाई बिशेष रुपमा लिएको छ ,’’ नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सचिब धनञ्जय रिमाल (फकिर ) ले भन्नुभयो ,‘‘ कृषिलाई क्षेत्रलाई बलियो बनाउने नीति कांग्रेसको हो , कृषि क्षेत्रलाई महत्व दिने गरी सरकारले काम गर्न जरुरी छ ।’’

उहाँले कृषि प्रधान देश भनेपनि किसानका समस्या यथावत छन् भन्नुभयो । कांग्रेसले असार १५ लाई बिशेष दिनका रुपमा बिगत बर्ष देखि नै मनाउँदै आएको छ । नेपाल सरकारले २०६२ साल असार १५ गते देखि बर्षेनी धान दिवस मनाउँदै आएको छ । यही दिनलाई हरेक नेपालीले धान दिवसका रुपमा मनाउने गरेका छन् । धान दिवस सरकारले मनाउने गरेपनि मल समयमै ल्याउन सकेको छैन । खेति गर्नेबेला हरेक पटक किसानले मल नपाएको अवस्था छ । कैलालीमा भारतबाट ल्याएर खेति गर्ने गरेका छन् । भारतबाट मल ल्याउँदा प्रहरीले दुःख दिने गरेका छन् । एकातिर सरकारले मल उपलव्ध गराउन नसक्ने अर्कोतर्फ किसानले भारत बाट लकाई छिपाई जोहो गर्दा प्रहरीले सताउने गरेपछि कतिपय अवस्थामा किसान र प्रहरीको झडप पनि हुने गरेको छ ।
‘‘सरकारले धान दिवस बर्षेनी मनाउछ तर किसानलाई आवश्यक परेका बेला मल उपलव्ध गराउन सक्दैन , दुःखको कुरा हो ,’’ नेपाल महिला संघ जिल्ला कोषाध्यक्ष निर्मला कडायतले भन्नुभयो,‘‘ धान दिवसलाई कतिपयले सामाजिक सञ्जालमा फोटा पोस्ट गर्नका लागि मनाउने गरेको देखिन्छ ।’’ अधिकांस नागरिक कृषि पेशामा आबद्ध भएपनि पछिल्लो समय जग्गा खण्डिकरणका कारण कृषि औजार प्रयोग गर्न नसकिने अवस्थामा पुगेको उहाँको भनाई छ ।
कृषि उत्पादन बढाउन वास्तविक किसानलाई उत्पादनमा प्रोत्साहन गरेर उनीहरुको उत्पादनले अनिबार्य मुल्य पाउने नीति ल्याउनु पर्छ भन्दै कडायतले नेपाली किसानसंग धान भएका बेला भारतबाट चामल आयात रोक्न जरुरी छ भन्नुभयो ।