धान बिक्री गर्न किसान ४ दिनदेखि लाइनमा, शुक्रबार सम्म यस क्षेत्रमा ८ हजार कुण्टल धान खरिद

टीकापुर, २२ कात्तिक/धान बिक्री गर्न कैलालीका किसान ४ दिनदेखि लाइनमा बसेका छन् । नेपाल खाद्य संस्थान डिपो कार्यालय टीकापुरमा कैलालीको टीकापुर र जानकीका सयौँ किसान ४ दिनदेखि धान बिक्रीका लागि लाइनमा बसेका छन् । बाहिर धान बिक्री गर्दा मूल्य नपाउने, संस्थानमै बिक्री गर्दा धेरै दिन पर्खनुपरेको किसानको गुनासो छ । उनीहरु संस्थानले शनिबार पनि खरिद गर्नुपर्ने माग गर्छन् ।
धान बिक्रीका लागि आउनु भएका टीकापुरको बनगाउँका मोहन चौधरी ३ रात खाद्य संस्थानकै परिसरमा बस्नुभएको छ । धान कुरेर बस्दा रातिको समयमा लामखुट्टेले टोक्ने, खान, बस्न समस्या भएको उहाँको गुनासो छ ।
जानकी १ धर्मापुरका महाविर चौधरी पनि धेरै दिन पर्खनुपर्दा समस्या भएको, पालैपालो भन्दा पनि पछि आएका अगाडि घुसिदिंदा आपसमा विवाद समेत हुने गरेको गुनासो गर्नुहुन्छ ।
जानकीको जगतपुरकी कविता चौधरीको गुनासो पनि यस्तै छ ।
जानकी ३ लायकपुरका कुकुराम चौधरी २ दिनदेखि लाइनमा हुनुहुन्छ । दुई दिन लगाएर उहाँ बल्ल गेटसम्म पुग्नुभएको छ । ब्यापारीले तोकेको मूल्य नदिने, खाद्य कम्पनीमा समयमै पालो नपाइने समस्याले सताएको छ ।
भुपेन्द्र प्रसाद चौधरी पनि ३ दिनदेखि लाइनमा हुनुहुन्छ । उहाँलाई पनि रातदिन यही पालो कुरेर बस्दा कठिन भएको छ । जानकी गाउँपालिकाको मुनुवाकी गंगादेवी डगौरा थारु पनि २ दिनदेखि पालो पर्खिरहनु भएको छ ।
अर्का किसान जानकी ८ का हरि चौधरी शनिबार बन्द हुने भएकाले सोमबार सम्म पालो आउँला भनी पर्खेर बस्नुभएको छ ।
खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीका विभिन्न स्थानबाट धान खरिद गरिरहेको छ ।
बरिष्ठ सहायक पुष्पराज बजगाई सरकारले धानको समर्थन मूल्य
ब्यापारी लगायत सबैका लागि तोकेको भए पनि ब्यापारीले लागू नगर्दा खाद्यमा किसानको भीड बढेको, आफूहरुले टीकापुरमा २ काटा लगाएर, ३२ जना पल्लेदार काममा लगाएर पालैपालो खरिद गरिरहेको बताउनुभयो । उहाँले भीड धेरै भएकाले किसानले पालो कुर्नु परेको बताउनुभयो ।
उहाँका अनुसार टीकापुर, सत्ती, जोशीपुर, भजनीमा आइतबार बाट धान खरिद शुरु भएको शुक्रबारसम्म ८ हजार कुण्टल धान खरिद भइसकेको उहाँको भनाइ छ ।