धाम निर्माणमा स्थानीयको जोड माघे संक्रान्तिमा कर्णाली नदीमा श्रद्धालुहरुको भिड

टीकापुर, ३ माघ/माघे संक्रान्ति को अवसरमा स्नान गर्न कर्णाली नदीमा ठूलो संख्यामा श्रद्धालुहरुको भिड थियो । टीकापुर ५ बृहत उद्यान नजिक कर्णाली नदीमा टीकापुर क्षेत्रका श्रद्धालुहरु को भिड बढ्दै गएको छ ।


प्रत्यक वर्ष कर्णालीमा स्नान गर्ने श्रद्धालुहरु बढ्दै गएपछि माघे ंसंक्रान्तिका लागि नगरपालिका र संघसंस्थाले स्नान कार्यक्रमलाई व्यबस्थित गर्ने गरेका छन् । स्नान कार्यक्रमलाई निरन्तरता दिन थालेपछि पवित्र नदी कर्णालीको महत्व बुझ्दै जान थालेका छन् । कतिपयले कर्णाली नदीलाई अपवित्र भनेर व्याख्या गर्ने गरे पनि पछिल्लो समय कैलाश पर्वतबाट आएको पानी पवित्र हो भनेर आम श्रद्धालुले बुझ्न थालेका छन् । पवित्र नदी कर्णालीको प्रचारप्रसार गर्दै यसको महत्व बढाउन टीकापुरमा धाम बनाउने योजना बन्न थालेका छन् ।


पवित्र नदीको किनारामा धाम निर्माण हुने हो भने टीकापुर पर्यटकीय क्षेत्र बन्नलाई थप सहयोग पुग्ने आशा गरेका छन् । भारतको सीमासँग जोडिएको टीकापुरमा पार्कका साथै धार्मिक पर्यटकीय क्षेत्र हुन सक्ने सम्भावना भएपछि धाम निर्माणमा जोड दिन थालिएको हो । कर्णालेश्वर धाम निर्माण गर्न सबै तयार छन् तर यसको निर्माण कसरी गर्ने भन्ने बरेमा एक मत भएको पाइदैन ।
यस वर्ष दौलतपुरस्थित कर्णाली नदीमा माघे सङ्क्रान्तिको अवसरमा दुई हजार बढी सहभागी भएका छन् ।कर्णाली नदीमा स्नान गरी, नदी किनारमा आयोजना गरिएको यज्ञमा स्थानीयको सहभागिता भएको थियो ।


नेपाली संस्कृति परिषद्को आयोजनामा कर्णालेश्वर मन्दिर दौलतपुर ‘कर्णालीधाम’मा मकर सङ्क्रान्तिको अवसरमा माघ १ गते लाहान माघी स्नान कार्यक्रम आयोजना गरिएको हो । पहिलो पटक वि।सं। २०७५ सालमा टीकापुर नगरपालिकाको समन्वयमा ब्राहमण समाज कैलालीले स्नान कार्यक्रम गरेको थियो । त्यसपछि विगत ४ वर्षदेखि संस्कृति परिषदले स्नान कार्यलाई व्यबस्थित गर्न र कर्णालीधाम स्थापनाका लागि कार्यक्रम गर्दै आएको छ । स्नान कार्यक्रमलाई आकर्षण बनाउन योग साधकहरु ले बिहान योग साधना गरेका थिए भने दिउँसो ध्यान गरेका थिए । नदीको किनारामा गरिने योग र साधनाबाट छुट्टै लाभ लिन सकिने योग साधकहरुको भनाइ छ । नदीमा स्नानपछि राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग नगर समितिले बृहत योग अभ्यास सञ्चालन गरेको थियो भने टीकापुर स्थित योग अनुसन्धान केन्द्रका साधकहरुले दिउसो नदी किनारा मा ध्यान गरेका थिए । कर्णाली नदीबाट हरेक मान्छेले लाभ लिन सक्ने अवस्था भएपनि नदीको महत्व नबुझ्दा त्यसै खेर गइरहेको छ ।


स्नानमा सहभागी भएकाहरु कर्णालेश्वर मन्दिर नजिकै गरिएको योग साधनामा सहभागी भएका थिए । मन्दिरमा पुजाआजा गर्नुका साथै त्यहाँ आयोजना गरिएको यज्ञमा सामुहिक पुजा, आरती गरिएको थियो ।
नदीमा स्नान तथा पुजाआजामा सहभागी हुनुभएका सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री डाक्टर रणबहादुर रावलले कैलाली र बर्दियाका नागरिक स्नान र यज्ञ पुजामा सहभागी भएर यसको महत्व बढाएको बताउनुभयो । ‘‘मलाई धेरै खुशी लागेको छ । भविष्यमा कर्णाली तटमा नेपालकै ऐतिहासिक धाम बन्नसक्छ’’, उहाँले भन्नुभयो, ‘‘यही नदी भारत पुगेर पवित्र मानिने भएकाले यो शीर हो । यो नदीको पवित्रता बारे फैलाइएको भ्रम गलत हो । कैलाशपर्वतबाट बगेको यो मूल नदी भएकाले यसबाट सबैले फाइदा लिनुपर्छ ।’’
वि।सं।२०७५ सालमा धार्मिक पर्यटकीय क्षेत्रका रुपमा अघि बढाउन माघी स्नान गरेको सम्झदै टीकापुर नगरपालिका पूर्व नगर प्रमुख तपेन्द्रबहादुर रावलले अहिलेको नागरिकको सहभागिता देख्दा खुशी लागेको बताउनु भयो । ‘‘टीकापुर नगरपालिकाले विगतमा यो नदीलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा अघि बढाउनुपर्छ यसको महत्व नागरिक र राष्ट्रलाई बुझाउनुपर्छ पनि माघी स्नान मेला शुरु गरेका थियौँ’’, उहाँले भन्नुभयो, ‘‘केही वर्षमा माघीमा मानिसको सहभागिता र विश्वास बढेको छ । यहाँ मन्दिरमा शिवलिङ्ग स्थापना गर्दा मानिसमा भएको जागरणले सार्थकता पाएको छ ।’’
रावलले स्नान गर्ने ठाउँको समस्या, नदी किनारलाई व्यवस्थित बनाउन सकिने भए पनि पालिकाले ध्यान नदिएको महसुस आफूले गरेको बताउनु भयो । ‘‘यो टीकापुरको पहिचान, सम्पत्ति हो, यसलाई संरक्षण र यहाँ लगानी गर्नुपर्छ’’, रावल ले भन्नुभयो । कर्णाली नदी पवित्र नदी भएकाले यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न हरेक वर्ष माघी स्नान कार्यक्रम मार्फत नदी संरक्षण तथा प्रचारप्रसार अभियान थालिएको नेपाली संस्कृति परिषद्का अन्तर्राष्ट्रिय सङ्गठनका महा सचिव तथा नेपालका राष्ट्रिय अध्यक्ष हर्कबहादुर स्वाँरले बताउनु भयो ‘‘कैलाश पर्वतबाट बगेका दुई नदीमध्ये यो एक नदी हो, यो नदीको जल पवित्र छ’’, उहाँले भन्नुभयो ‘‘कर्णाली नदीलाई धामका रुपमा विकास गरेमा भारतीय तथा अन्य विदेशी पर्यटकको लाइन लाग्छ ।’’
हिमालयबाट निस्किएको नदी सबै नेपालीको आस्थाको केन्द्र भएकाले यसको आफ्नै इतिहास भएको बताउँदै कर्णाली नदीमा कर्णालीधाम स्थापना हुनुपर्ने माग गर्नुभयो । स्नानका लागि श्रद्धालुलाई नदीसम्म लैजान बस,अटो रिक्सा
लगायतको व्यवस्था गरिएकोथियो । बसको ब्यवस्था भएपछि टीकापुरबाट सयौँ श्रद्धालु कर्णाली नदी पुगेका थिए । नदीमा स्नान गर्न कैलाली र बर्दियाबाट कर्णालीधाम पुगेका थिए । नदी किनारमा कर्णालेश्वर महादेव मन्दिर छ । मन्दिरमा पुजाआजा गर्नेको भीड थियो । नदी नकिजै हनुमान मन्दिर समेत निर्माण भइरहेको छ ।करिब डेढ करोड रुपैया लगानीमा नगरपालिकाले हनुमान को मुर्ति बनाउने भनेर केही दिनअघि नगर प्रमुख रामलाल डगौंरा थारुले शिलान्यास समेत गर्नुभएको छ ।
नेपाली संस्कृति परिषदका केन्द्रीय सदस्य तथा कार्यक्रमका संयोजक ललित थापा शिव कर्णाली नदी अपवित्र भनी प्रचार गरिएको कुरालाई चिर्न सुन बग्ने नदीको संरक्षण आवश्यक रहेकाले यसको प्रचार र संरक्षण आवश्यक रहेको बताउनु   भयो ।
यस वर्षको स्नान कार्यक्रममा गरिएको यज्ञको मुख्यकर्ता टीकापुर नगरपालिकाका इञ्जिनियर नवराज जोशी दम्पत्ती हुनुहुन्थ्यो । स्नान कार्यक्रममा प्रसाद वितरण गर्ने गरिएको छ ।
धाम निर्माण हुनेभएपछि स्थानीय खुसी छन् । धाम निर्माण गर्दा बृहत योजना बनाएर शुरु गर्नुपर्छ ।