टीकापुर, २४ फागुन/टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारु र कार्यपालिका सदस्यहरुबीच फेरि विवाद शुरु भएको छ ।
फागुन २२ गते नगर प्रमुखले पत्रकार सम्मेलन गरी नगर प्रमुख रामलाल डगौरा थारु कार्यपालिका सदस्यहरुले विकासका काममा सहयोग नगरेको बताउनु भएको थियो भने हिजो कार्यपालिका सदस्यहरुले नगरप्रमुख विधिमा नचलेको, कार्यपालिका सदस्यहरु असहमत भएका प्रस्तावहरु पनि निर्णय लेखेर प्रमाणित गर्ने गरेको भनी पत्रकार सम्मेलन गरेका छन् भने नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र प्रशासन शाखामा ताला लगाइ दिएका छन् ।
पत्रकार सम्मेलनपछि माइन्यूटका असहमति लेख्न आउनु भएका कार्यपालिका सदस्यहरुले माइन्यूट नपाएपछि नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रशासन शाखामा ताला लगाइदिएका नगरप्रमुखका स्वकीय सचिव लोकबहादुर बुढाले जानकारी दिनुभयो ।
बुढाका अनुसार नगरप्रमुख थारु यतिबेला काठमाडौंमा हुनुहुन्छ भने मन्त्रालयले काजमा पठाएका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरी कार्यालय पुगिसक्नु भएको छैन् । यस अघि काम गर्दै आउनु भएका शिक्षा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृत दमन सिंह चौधरीले यस विषयमा बोल्न चाहानु भएन ।
अनुगमन समितिका सदस्य फिर्ता
टीकापुर नगरपालिका नगर कार्यपालिकाको २०८१ माघ २९ गते बसेको ४७ औं कार्यपालिका बैठकले २०७९ जेठ २३ गतेको पहिलो कार्यपालिका बैठकले चयन गरेका सदस्यहरु दीपक निसानी र राजरानी चौधरीलाई फिर्ता बोलाई, वडा नम्बर ९ का वडाध्यक्ष लौटन चौधरी र कार्यपालिका सदस्य कैलाशपति चौधरीलाई अनुगमन तथा सुपरीवेक्षण समितिमा पठाउने निर्णयले विवाद ल्याएको छ ।
कार्यपालिका १२ जना सदस्यहरु ले फागुन १९ गते नगरप्रमुखको स्वेच्छाचारी गतिविधिको पे्रस विज्ञप्ति मार्फत विरोध गर्ने र निर्णय फिर्ता गराउने निर्णय गरेका थिए । यो कुरा थाह पाएपछि नगरप्रमुख रामलाल डगौरा थारुले फागुन २२ गते पत्रकार सम्मेलन गरी कार्यपालिका सदस्यहरुले काम गर्न नदिएको र विकास विरोधी भएको बताउनु भएको थियो ।
नगरप्रमुखलाई दोष
नगरप्रमुखले गरेको निर्णय र कार्यपालिका सदस्यहरुका विषयमा पत्रकार सम्मेलन गरेपछि चिढिएका कार्यपालिका सदस्यहरुले पत्रकार सम्मेलन गरी विधि विपरित काम गर्दा टीकापुर नगरपालिकाको सुशासन, कार्यसम्पादन मुल्यांकन घटेको, कार्यपालिका, नगर सभाको मर्यादा राख्न नसकेको जानकारी दिएका छन् ।
‘कार्यपालिका र सभाले बनाएका समितिलाई निष्क्रिय बनाउने, मनपरी नियुक्त गर्ने हटाउने कठपुतली बनाउने कार्य, नगरसभाले पास गरेका आयोजनाहरु मनलाग्दी संशोधन गर्नु र बजेटको सुनिश्चितता नभई आन्तरिक स्रोत भन्दै अनुत्पादन शीर्षकमा बजेट विनियोजन गर्नु, आन्तरिक आम्दानी का स्रोतहरुको समयमा प्रक्रिया अगाडि नबढाई प्रयाप्त आन्तरिक आय नहुनु, सोह्रौं नगरसभाबाट बजेटको सुनिश्चितता नै नभई आयोजनाहरु छनोट गर्न लगाई सभाबाट पास भएका आयोजनाहरु कार्यान्वयन नगर्नु विकास विरोधी काम हो,’ कार्यपालिका सदस्यहरुले जारी विज्ञप्तीमा भनिएको छ, ‘हामी विकास विरोधी होइनौ विधिमा चल्नुपर्छ भनिरहेका छौ र टीकापुरको विकास होस भन्नेमा हामी धेरै चिन्तित छौं ।’
टीकापुर नगरपालिकाका उपप्रमुख हाल निलम्बनमा हुनुहुन्छ । कार्यपालिका सदस्यहरु ले बेलाबेला विधि विपरित काम भएको भन्दै नगर प्रमुखका काममा असहमति जनाउने गरेका छन् ।
नगर प्रमुख थारुले केही दिन अघि पार्टीले अवरोध गरे पार्टी नै त्याग्न तयार भएको बताउनु भएको थियो । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित नगरप्रमुख थारुका कामको सोही पार्टीका कार्यपालिका सदस्यहरुले समेत आलोचना गर्ने गरेका छन् ।