नगर सफा राख्न नागरिक सचेत हुनुपर्छ

सम्पादकीय

आफ्नो ठाउँ सफा राख्न नागरिक सचेत हुनु पर्छ । कसैले सफा गर्ने कसैले फोहर गर्ने हो भने घर पनि सफा हुँदैन । सार्वजनिक स्थल सफा राख्नु सबैको कर्तव्य हो । टीकापुर बजार सुन्दर देखिएको छ । सहरी विकास मन्त्रालय मार्फत आएको बजेटले कालोपत्रे गर्ने काम भएको छ भने चारवटा चौराहाले उत्तिकै सुन्दरता थपेको छ । व्लक ए यतिखेर सिंगारिएको छ । बजार चिटिक्क भएको छ । यसरी चिटिक्क भएको बजारलाई सफा राख्न नगरपालिकाले पनि मेहनत गरेको छ । दिनहू १६ जना सफाइ कर्मचारीले बजार सफा गर्ने गरेका छन् । बिहानभरी सफा गर्ने अनी दिउँसो बजारमा आउने नागरिकले जथाभावी फोहर फाल्ने गर्नाले बिहान चिटिक्क भएको बजार फोहर हुन थाल्छ । व्यबसायीले पनि आफ्नो पशलबाट निस्कको फोहर डस्टविनमा राख्न जरुरी छ । फोहर संकलन गर्ने डस्टविन हरेक ठाउँमा राखिएको छ । नगरपालिकाले डस्टविनको व्यबस्था गरेको छ भने नागरिकले उक्त डस्टविनको सही सदुपयोग गर्नुपर्छ । बजार क्षेत्रमा गुट्का लगायत अन्य कुरा खाएर फोहर गर्नु अपराध हो । साना साना फोहरका टुक्राले बजारको सुन्दरता बिगार्ने गरेको छ । थुक्दा पनि बिचार गर्नुपर्ने अवस्था छ । चिटिक्क भएको सहरलाई सबैले सफा राख्न प्रयास गर्ने हो भने टीकापुरमा आउने हरेकले आहा भन्छन् । सफा सहर बनाउने हो भने रोगव्याध पनि लाग्दैन । स्वास्थ्यका लागि पनि बजार क्षेत्र सफा राख्न जरुरी छ । उसो त पूरै नगर सफा राख्न पहल हुनुपर्छ । पूरै नगर सफा राख्ने हो भने अलग्गै राम्रो हुन्छ । तसर्थ नागरिकले सरसफाईमा ध्यान दिन जरुरीछ । नगरपालिकाले सरसफाइका लागि जनचेतना फैलाउने कार्यक्रम गर्नुपर्छ । जनचेतना फैलाउँदा पनि भएन दण्डको जरिवाना गर्न जरुरी छ ।