टीकापुर,११ कात्तिक / नागरिक समाज टीकापुर पुनर्गठन भेलाले समाजको संयोजकमा भिमराम चपाईलाई चयन गरेको छ । भेलाले सचिवमा एकिन्द्र तिमिल्सेना, सदस्यमा हर्कबहादुर भण्डारी, दुर्गाप्रसाद भण्डारी, सोहनलाल कठरिया, शेरबहादुर विष्ट, ललित ताम्राकार, मुक्तिप्रसाद शर्मा भट्टराई, काशिराम ढुंगाना र कला विष्टलाई चयन गरेको छ ।
समाजको बैठकले नागरिक समाजलाई समाबेशी बनाउन छुटेका क्षेत्रबाट प्रतिनिधि थप्ने र भेलामा आएका सुझावहरुलाई आधार मानेर काम गर्ने निर्णय गरेको छ ।
भेलामा उपस्थित सामुदायिक रेडियो टीकापुर एफएमका अध्यक्ष डाक्टर योगेन्द्र बजगाइले नेपालीको बानी गुनासो मात्र गर्ने भएकोले, आफुले गरेका कार्यको समिक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले नागरिक समाजमा काम भएको भए पनि आउँदा दिनमा थप सक्रीयता देखाउन सुझाव दिनुभयो ।

पत्रकार तथा समाजसेवी भुवनेश्वर अधिकारीले नागरिक समाजलाई जोगाउन जरुरी रहेको बताउँदै हरेक गलत कार्यको विरोध गर्ने संस्था नागरिक समाज भएकाले सामाजिक रुपमा असल काम गरेकालाई आबद्ध गराउन सुझाव दिनुभयो ।
समाजसेवी मातृका तिमिल्सिनाले लोकतन्त्र र कानुन रक्षाका लागि नागरिक समाज चाहिएको बताउनु भयो । उहाँले राजनीति सुधार्नका लागि नागरिक समाज चाहिने भएकाले देश जोखिममा रहेकोले नागरिक समाजको चनाखो भुमिका आवश्यक रहेको बताउनुभयो ।
अधिवक्ता मुक्तिप्रसाद शर्मा भट्टराईले निष्पक्षतामा सचेत हुने, सार्वजनिक सरोकार, सुशासनका पक्ष, सेवा प्रदायक कार्यालयको ढिलासुस्तीमा समाजले आवाज उठाउनु पर्ने बताउनुभयो । उहाँले अहिलेको संकटमा थप बेथिति बढ्ने भएकोले नागरिक समाजको थप भुमिका आवश्यक रहेकोमा जोड दिनुभयो ।
निवृत्त शिक्षक कला विष्टले नागरिक समाजमा नाफा खोज्नेहरु नअट्ने भएकोले, स्थानीय सरकारका गलत कार्यमा खबरदारी गर्न सुझाव दिनुभयो ।
मानव अधिकारकर्मी सोहनलाल कठरियाले समाजका लागि केही गर्छु भन्ने भावनाको मानिस समाजमा आबद्ध हुनुपर्ने,नागरिक सरोकारमा चासो दिनुपर्नेमा जोड दिनुभयो ।

सामाजिक अगुवा ललित ताम्राकारले परिवर्तनका समयमा नागरिक समाज जागेको र नागरिक समाजमा गैरसरकारी सस्थाले खेलिदिदा यसको दिगोपना का लागि काम हुन नसकेकोमा ध्यान दिन सुझाव दिनुभयो ।
टीकापुर उद्योग वाणिज्य सघका उपाध्यक्ष दिपेन्द्र रावलले नागरिक समाजले टीकापुरको समाज जोड्ने काम गर्नुपर्ने, शिक्षा, स्वास्थ्य सेवा, विकास निर्माणमा खबरदारी गर्नुपर्ने बताउनुभयो ।
निवृत्त शिक्षक काशिराम ढुङ्गाना ले नागरिक समाजले राज्यलाई घच्घच्याउने काम गर्नुपर्ने बताउँदै टीकापुरमा मिलेर बस्ने सन्देश दिनुपर्ने बताउनुभयो ।
तारा प्रसाद जोशीले देशमा सामान्य परिस्थिति नभएको उल्लेख गर्दै नेतृत्व विहिन आन्दोलनले नेपाल उल्टो दिशातर्फ गइरहेकाले यो बेला नागरिक समाज जाग्नुपर्ने बताउनुभयो ।
शिक्षक हृदय राज रेग्मीले आफू दर्जनौं संस्थामा आजिवन सदस्य भएर पनि कतैँ चित्त नबुझेकाले योगमा लागेको बताउनुभयो । उहाँले राम्रो विद्यालय, अस्पताल, कृषि देश मल कारखाना नभएको प्रसग निकाल्दै यस्ता कुरामा नागरिक समाजले खबरदारी गर्नुपर्ने बताउनुभयो ।
निवृत्त शिक्षक देवानन्द रिमालले समाजले सविधान, कानुन अनुसार काम भए नभएको हेर्ने र सुझाव दिने काम गर्ने बताउनुभयो । समाजसेवी ताराप्रसाद अधिकारी ले मानव अधिकार उलङ्घन, सामाजिक हितका कार्य भए
नभएको निगरानी गर्ने, खबरदारी गर्ने टीकापुरका सेवा प्रदायक संस्था इलाका प्रशासन, मालपोतका सेवाबारे निगरानी गर्न सुझाव दिनुभयो । समाजका पुर्व संयोजक फिरुलाल चौधरीले नागरिक समाजको उपयोगीता, आवश्यकता समाज लाई रहेकाले आगामी दिनमा राजनीतिक, सामाजिक, आर्थिक अधिकारमा समाजले बोल्नु पर्ने र सद्भावका लागि काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा समाजसेवी तारा प्रसाद अधिकारी, यज्ञराज ज्ञवाली, शेरबहादुर विष्ट, दुर्गाप्रसाद भण्डारी लगायतले सुझाव राख्नु भएको थियो ।
समाजका संयोजक भिमराम चपाइको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव एकिन्द तिमिल्सेनाले गर्नुभएको थियो भने स्वागत सदस्य हर्कबहादुर भण्डारी ले गर्नुभएको थियो ।