नेकपा एमालेको मिसन ग्रासरूट कार्यक्रम

टीकापुर, २३ चैत/नेकपा एमाले ले एक महिनादेखि सञ्चालनमा रहेको मिसन ग्रासरूट कार्यक्रमको बुधबार टीकापुरमा समिक्षा गरेको छ ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले नौ लाख सदस्य भएको एमालेले चुनावमा बहुमत ल्याउन नसकेपछि अवस्था बुझ्न मिसन ग्रासरुट कार्यक्रम सञ्चालन भएको बताउनु भएको छ ।
सचिव भट्टले पार्टीका बिचार सिद्धान्त थाह नपाई पद पाउन र धन्धा चलाउन लागेको व्यक्ति एमाले हुन नसक्ने भएकाले अब भौतिक उपस्थितिमा मात्रै सदस्यता नवीकरण गराउन लागेको र नयाँ सदस्यता विधानअनुसार मात्रै गर्न लागिएको बताउनुभयो ।


सरकारप्रति टिप्पणी गर्दै पूर्वमन्त्री भट्टले टाउकाको मूल्य तोक्ने र तोकाइ खाने एकै ठाउँमा धेरै दिन टीक्न नसक्ने र छिटै एमाले सरकार पक्ष हुनसक्ने पनि बताउनु भयो ।
एमाले पोलिट व्यूरो सदस्य तथा कैलाली क्षेत्र नम्बर १ मा खटिनु भएकी नेता निरू पालले मिसन ग्रासरुट कार्यक्रम मा आधा जति जिल्ला सदस्य र प्रदेश सदस्यहरू खटाइएको ठाउँमा नदेखिएको बताउदै कार्यक्रममा नदेखिने र कागजमा सिमित पार्टी नेता आवश्यक नभएको बताउनु भयो ।
प्रदेश कमिटिका सदस्य मनोज खड्काले लामो समय इमानदार भएर काम गर्दा पनि न्याय नपाएका गुनासाहरू अब व्यवस्थापन गर्दै जाने आश्वासन दिनुभयो । जनता को विश्वास भएपनि नेता परिचालन नहुँदा समस्या भैरहेको बताउनुभयो । पार्टीका जिल्ला अध्यक्ष दुर्गाप्रसाद जोशीले पार्टीलाई जनताको घरघरमा पुर्याउने उद्देश्यले दुई महिने मिसन ग्रासरूट चलाइरहेको भएपनि उद्देश्य अनुसारको प्रगति हुन नसकेको बताउनुभयो । जिल्ला सचिव डेजी पाण्डेले हरेक वडामा खटाइएका सबै जिल्ला प्रतिनिधिले राम्ररी काम नभएकोले बाँकी अवधिमा अझै खटेर काम गर्नुपर्ने, वडातहसम्म पार्टी कार्यकर्ता लाई प्रशिक्षण र संगठित सदस्यता नवीकरण आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा टीकापुर नगर कमिटी अध्यक्ष ध्रुवराज खत्री,जोशीपुर इञ्चार्ज गणेश पाठक, एमाले भजनी अध्यक्ष खडक बुढाले आफ्ना पालिमा पार्टीले गरेका गतिविधिबारे जानकारी गराउनु भएको छ ।
एमालेका टीकापुर नगर अध्यक्ष ध्रुवराज खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रेखा चौधरीले गर्नु भएको थियो भने सञ्चालन राजबहादुर बुढाले गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी एमाले का पार्टी कार्यकर्ताहरुले स्थानीय नेताहरू जनताको बीचमा नजाने तर नेताहरूका वरिपरि परिक्रमा गरेर आफू अनुकूलका चुक्ली लगाउने गरेको गुनासो गरेका छन् । कार्यक्रममा टीकापुर जोशीपुर र भजनी नगरपालिकाका एमाले नेता कार्यकर्ता सहभागी थिए ।