सम्पादकीय
प्रजातन्त्रमा नेताहरुले चाकडी खोज्दै जाने र काम नगर्ने हो भने देश र जनताले दुख पाउनु स्वभाविकै हो । नागरिकको चाहना अनुसार काम गर्नुभन्दा चाकडी खोज्ने राजनीतिले यतिखेर समग्र मुलुकमा निरासाको वातावरण छ । नागरिकको जीवन कष्टकर बन्दै गएको छ । नागरिकसंग पैसा छ व्यबसाय गर्ने वातावरण छैन । साना व्यवसायीले उद्योग सञ्चालन गर्न सक्ने अवस्था छैन । यसको एउटै कारण हो नीति प्रष्ट नहुनु । नीति प्रष्ट बनाएर काम गरेर खाने वातावरण बनाउनुको साटो नेताहरु सत्तामा जाने र मोज गर्न तल्लिन हुने गरेका छन् । हिजो बोल्न पाइदैन भन्दै राणा र पंचका बिरुद्ध लडेका राजनीतिक दलका नेताहरु यतिखेर आफु सत्तामा भएका बेला आफ्ना बिरुद्ध उठेको आवाज सुन्न चाहदैनन् । प्रजातन्त्रमा गुनगान मात्र सुन्न खोज्ने साशकले देशको बारेमा काम गर्दैनन् । आफ्ना बिरुद्ध उठेको आवाज दबाउने प्रयासमा लागेका छन् । सत्ताको मातले होला राजनीतिक दलका नेताहरु सरकारी निकाय प्रयोग गरेर कारबाहीको डण्डा चलाउने गरेका छन् । हिजो राणा र पंचले पनि आफ्ना बिरुद्ध आवाज उठाउनेहरुलाई मात्र कारबाही गर्थे । देश र जनताको हितमा काम गर्नुको साटो आफ्नो स्वार्थमा लिप्त हुँदा यतिखेर देश संकटमा पर्दै छ । कुण्टलका कुण्टल सुन तस्करी हुदा सरकार ढाकछोपमा लाग्छ । छानविनका नाममा नाटक गरेर जनतालाई ठग्ने काम सत्तामा बस्नेहरुले गर्ने गरेका छन् । तसर्थ नागरिक सचेत हुन जरुरी छ । नागरिक सचेत नहुने हो भने मुलुक थप संकटमा फस्ने निश्चित हो ।