नेपालमा पद पहिलो शर्त

सम्पादकीय
नेपाली समाजमा पद पहिलो शर्त मानिन थालिएको छ । हरेक समाजमा केही ठालुहरु जसरी पनि पद लिन लागिपरेको देखिन्छ । सानातिना हुन् या आफ्नो क्षमताले नभ्याउने पद भएपनि लिइहाल्नुपर्ने बानी बसाल्न थालिएको छ । सामाजिक अगुवा बन्न रहर गर्ने अनी अगुवा भएपछि लुट्न र मनपरी गर्ने प्रचलन बढ्दै जाँदा आपसमा द्वन्द बढ्न थालेको छ । आपसमा द्वन्द्व बढ्दै जाँदा विकास समेत अबरुद्ध हुने गरेको छ । पदका लागि पार्टी पार्टी बीच बिभाजन होइन आफ्नै पार्टीका साथी भाईलाई दुश्मन देख्ने प्रचलन बढेको छ । राजनीतिमा केवल पद र प्रतिष्ठाको कुरा मात्र आउन थालेको छ । जनप्रतिनीधि ५ बर्षका लागि हो भन्ने भावनाको विकास हुन सकेको छैन । धेरैको मनमा बाचुञ्जेल जनप्रतिनीधि हुन पाए हुन्थ्यो भन्ने मानसिकता पलाएको पाइन्छ । मुलुकको अवस्था नाजुक भइरहेको छ तर नेताहरु पद र प्रतिष्ठाका लागि मरिहत्ते गर्नमा व्यस्त छन् । नागरिकका समस्या बारे बहस र छलफल हुँदैनन् । मुलुकले बेहोर्नु परेको कष्टका बारेमा छलफल हुँदैन । नेताहरुले आज राम्रो हुन्छ भोली राम्रो हुन्छ भनेर जनतालाई ठग्ने काम मात्र गरेका छन् । रोजगारका अवसर छैनन् अनी काम गरेर खाने वातावरण पनि छैन । यस्तो अवस्थामा नेपालमा युवाहरु किन बस्छन् ? युवाहरुको पलायन रोक्ने कुरा नीति तथा कार्यक्रममा आउछ तर कार्यान्वय गर्ने बेला प्रगति सून्य हुन्छ । यसरी मुलुकको अवस्था नाजुक हुँदै गएको छ । तसर्थ नागरिक सचेत भएर राजनीतिक दलका नेताहरुलाई दबाब दिन जरुरी छ । गलत गर्नेहरुलाई जनताले सवक सिकाउन जरुरी छ । भोटको राजनीतिले मात्र नागरिकका समस्या हल हुँदैनन् । नागरिकको जीवन स्तर बढाउने गरी काम हुनुपर्छ । नागरिकले आफ्नो जीवन स्तर सुधार्न कति कुर्नुपर्ने हो त्यो बारेमा व्यापक छलफल हुन जरुरी छ । मुलुकको हितमा काम गर्ने गरी सामाजिक अगुवाले काम गर्न जरुरी छ ।