टीकापुर,२० भाद्र/नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसको अवसरमा बुधवार देशभर बिभिन्न कार्यक्रम भएका छन् । यसै क्रममा टीकापुर उपशाखाले बिरामीलाई फलफूल वितरण गरेको छ । रेडक्रसकर्मी र सामाजिक अगुवाले टीकापुर अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरेका हुन् ।
फलफूल वितरणसंगै उपशाखा ले टीकापुरमा निशुल्क रगत उपलव्ध गराउने कार्यक्रम शुरुवात गरेको भन्दै पूर्ब मेयर तपेन्द्रबहादुर रावल र उपमेयर केसरी बिष्ट रावललाई कदरपत्र सहित सम्मान गरेको छ । उपशाखाका सभापति दत्त बहादुर बिष्टको सभापतित्वमा भएको कार्यक्रममा रेडक्रसका पूर्ब केन्द्रिय सदस्य बलबहादुर रावल ले रेडक्रस मानवतामा बिश्वास गर्ने संस्था भएकाले यो संस्थाको गरिमा बचाउन जरुरी छ भन्नुभयो । उहाँले टीकापुर रेडक्रसले रगत उपलव्ध गराउँदा नागरिकलाई ठूलो सुबिधा भएको भन्दै फलफूल वितरणले पनि सकारात्मक सन्देश दिने बताउनुभयो ।
पूर्ब मेयर रावलले नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाको योजना अनुसार आफ्नो कार्यकालमा निशुल्क उपलव्ध गराउने कार्यक्रम ल्याएको बताउनुभयो । आफ्नो कार्यकालमा सुत्केरीका लागि ‘होम टू हस्पिटल’ कार्यक्रम ल्याएको र टीकापुर अस्पतालमा दुईजना बिशषेज्ञ डाक्टरका लागि बार्षिक ५२ लाख रुपैया छुट्याए को बताउनुभयो ।
अस्पतालका प्रमुख डाक्टर रेमकुमार राईले रेडक्रसले रगत उपलव्ध गराउँदा बिरामीलाई धेरै सुबिधा भएको बताउनु भयो । उहाँले रगत सेप्रेसन गरेर उपलव्ध गराउनु भनेको उच्च स्तरको सुबिधा दिनु हो भन्दै रगत सेप्रेसन मेसिनका बारेमा सबैले ध्यान दिन जरुरी छ भन्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी कैलालीका उपसभापति जगदिश्वर पण्डितले टीकापुर अस्पतालमा डाइलसिस सेवा शुरु भएपछि दैनिक चार पिण्ट रगत थप आवश्यक पर्ने भएकाले अघिल्लो बर्षको तुलनामा बार्षिक एक हजार पिण्ट रगत थप जोहो गर्नुपर्ने अवस्था छ भन्नु भयो । ‘‘सेप्रेसन मेसिन भएको भए बिरामीलाई आवश्यक परेको रगत उपलव्ध गराउन सकिने थियो, अहिले बिरामीलाई आवश्यक पर्ने भन्दा थप रगत गइरहेको छ ,’’ पण्डितले भन्नुभयो,‘‘ सेप्रेसन मेसिन अति आवश्यक छ यसका लागि सबैबाट पहल हुन जरुरी छ । ’’
टीकापुर नगरपालिकाले २०७५ सालमा आफ्ना नागरिकलाई निशुल्क रुपमा रगत उपलव्ध गराउने कार्यक्रम ल्याएपछि जानकी र जोशिपुरका पालिकाले पनि कार्यक्रम लागु गरेकाछन् भने धनगढीले यस बर्ष कार्यक्रम ल्याएको छ ।
टीकापुरकै देखासिखी गर्दै देशका अन्य पालिकामा पनि रगत निशुल्क उपलव्ध गराउने कार्यक्रम शुरु भएका छन् ।
उता नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखाले रक्तदान कार्यक्रम गरेको छ । उपशाखाका सभापति धनसरी कोईरालाको सभापतित्व मा भएको कार्यक्रममा रेडक्रसकर्मी र स्थानीय ४० जनाले रक्तदान गरेका थिए ।